बुल्गेरियन फुटबलमा खैलाबैला, मुख्य प्रशिक्षकले पनि दिए राजिनामा

एजेन्सी । बुल्गेरिया राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक क्रासिमिर बालाकोवले प्रशिक्षकीय जिम्मेवारीबाट राजिनामा दिएका छन् । रिपोर्टअनुसार युरो क्वालिफयरतर्फ इङल्याण्ड विरुद्धको खेलमा बुल्गेरियाका समर्थकहरुले इङल्याण्डका खेलाडीहरुलाई लक्षित गरि रंगभेदी टिप्पणी गरेको विवादमा मुछिएपछि ५३ बर्षिय बालाकोवले राजिनामा दिएको बताइएको छ ।

स्मरण रहोस, सोमबार बुल्गेरियन शहर सोफियामा भएको समूह ए तर्फको खेलमा इङल्याण्डले बुल्गेरियामाथि ६–० को प्रभावशाली जित हात पारेको थियो । तर त्यो जित रंगभेदी टिप्पणी र विवादका कारण ओझेलमा पर्न पुगेको थियो ।

खबरअनुसार बुल्गेरियाका समर्थकहरुले इङल्याण्डका काला खेलाडीहरुलाई लक्षित गरेर रंगभेदी टिप्पणी गरेपछि उक्त खेल दुईपटक रोकिएको थियो । यद्यपि त्यस बिषयमा बुल्गेरियाका प्रशिक्षक बालाकोवले आफूले केहि पनि नसुनेको प्रतिक्रिया दिएका थिए ।

उनको यो प्रतिक्रिया आएपछि बेलायती लगायत विभिन्न सञ्चारमाध्यमहरुले उनको कडा आलोचना गर्न शुरु गरेका थिए । बीबीसीका अनुसार यो घट्नापछि बुल्गेरियन फुटबल युनियनका अध्यक्ष लगायत अधिकांश सबै जसो पदाधिकारीहरुले समेत राजिनामा दिएका छन् ।

त्यस्तै उता बुल्गेरियन प्रशासनले यस घट्नामा संलग्न भन्दै १६ जनाको पहिचान गरेको र १२ जनालाई पक्राउ गरेको बताएको छ । साथै त्यसमध्ये बिहीबार चार जनालाई दुई बर्षको प्रतिबन्ध र जरिवाना तिराइएको छ भने अन्यमाथि थप अनुसन्धान भईरहेको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...