मेस्सी चम्किए, बार्सिलोना रियल मड्रिड भन्दामाथि

फागुन २२ – बार्सिलोनाले शानदार जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा स्पेनिस ला लिगा लिडर बार्सिलोनाले सेल्टा डि भिगोलाई ५–० ले हरायो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा नेइमार, इभान रेकिटिक र स्यामुएल उमटिटीले एक एक गोल गरे । २४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा नेइमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २–० को अग्रता लियो । ५७ औं मिनेटमा रेकिटिक तथा ६१ औं मिनेटमा उमटिटीले गोल गरेपछि बार्सिलोनाको अग्रता ४–० मा पुग्यो । ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को शानदार जित दिलाए ।

मेस्सीले यो सिजन ला लिगामा अहिलेसम्म २३ गोल गरिसकेका छन् । सात गोलका लागि सहयोग गरेका उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । जितपछि शीर्ष स्थानको बार्सिलोनाको २६ खेलबाट ६० अंक भएको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा एक अंकले अघि छ । एक खेल कम खेलेको रियल मड्रिडको ५९ अंक छ ।


प्रतिक्रिया दिनुहोस

Loading...