रियलको जितमा हजार्डको ‘डेब्यु गोल’ (भिडियोसहित)

एजेन्सी । बेल्जियन स्टार इडन हजार्डले रियल मेड्रिडका लागि पहिलो गोल गरेपछि स्पेनिस ला लिगामा शनिबार रियलले ग्रेनाडामाथि ४–२ को जित निकालेको छ ।

घरेलु मैदान सान्टियागो बर्नबेयुमा भएको खेलको दोस्रो मिनटमै करिम बेन्जेमाको गोलबाट रियलले शुरुवाती अग्रता लिएको थियो । त्यस्तै पहिलो हाफकै इन्जुरी समयमा हजार्डले गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए ।

दोस्रो हाफतर्फ ६१औं मिनटमा लुका मोड्रिकले तेस्रो गोल गरे । यद्यपि खेलमा फर्कने प्रयास गरेको ग्रेनाडाका लागि डार्विन माचिसले ६९औं मिनटमा पेनाल्टीबाट पहिलो गोल फर्काए । त्यस्तै ७७औं मिनटमा डोमिंगोस ड्वार्टेले पाहुना टोलीका लागि दोस्रो गोल गर्दै खललाई ३–२ को स्थितिमा ल्याएका थिए ।

तर इन्जुरी समयको ९०+२औं मिनटमा जेम्स रोड्रिगेजले रियलका लागि चौथो गोल गरेपछि ग्रेनाडाको खेलमा फर्किने सपना समाप्त भएको थियो ।

यो जितसँगै ८ खेलबाट १८ अंक जोडेको रियल शिर्ष स्थानमा समेत उक्लिएको छ । १४ अंक जोडेको ग्रेनाडा भने दोस्रो स्थानमा छ । उता १–१ खेल कम खेलेका एटलेटिको मेड्रिड र बार्सिलोना भने १४ र १३ अंकका साथ क्रमश तेस्रो र चौथो स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...