चेल्सीको जितमा विलियनको ‘सुन्दर भली’ निर्णायक (भिडियोसहित)

एजेन्सी । ब्राजिलियन स्टार विलियनले उत्कृष्ट भली गोल गरेपछि च्याम्पियन्स लिगको समूह एच तर्फ लण्डन क्लब चेल्सीले फ्रान्समा बुधबार राती महत्वपूर्ण जित हात पारेको छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा भ्यालेन्सियासँग १–० को स्तब्धपुर्ण हार बेहोरेको चेल्सीले बुधबार राती भने लिलेलाई उसकै घरमा २–१ ले हरायो ।

चेल्सीको जितमा २२औं मिनटमा टेमी अब्राहमले पहिलो गोल गरे । यद्यपि घरेलु टोलीका लागि ३३औं मिनटमा भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ७७औं मिनटमा वैकल्पिक खेलाडी केल हडसन ओडोईको क्रस पासमा विलियनले उत्कृष्ट भली गोल गर्दै ब्लुजको महत्वपूर्ण जित पक्का गरेका थिए ।

समूह एच कै अर्को खेलमा एजाक्सले भ्यालेन्सियालाई ३–० ले हरायो । बुधबार रातीको त्यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको एजाक्स शिर्ष स्थानमा छ । त्यस्तै ३–३ अंक जोडेको भ्यालेन्सिया र चेल्सी दोस्रो र तेस्रो स्थानमा छन् भने अंकविहीन लिले पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...