भारतद्वारा एसियन च्याम्पियन कतार बराबरीमा रोकियो

एजेन्सी । फिफा विश्वकप दोस्रो चरणको छनौटतर्फ छिमेकी मुलुक भारतले एसियन च्याम्पियन कतारलाई उसकै घरमा रोकेको छ । यसै बर्षको शुरुवाततिर एसियन कपको उपाधि जितेको कतार सन् २०२२ को फिफा विश्वकपको आयोजक राष्ट्र समेत हो ।

दोहा स्थित जसिम बिन हमाद स्टेडियममा भएको खेलमा भारतले कतारलाई गोलरहित बराबरीमा रोक्दै महत्वपूर्ण अँक खोस्न सफल भएको हो । खेलमा शुरुवातबाटै दबाब खेपेको भारतले कतारको आक्रमणलाई थेग्न भने सफल भयो ।

भारतका लागि गोलरक्षक गुरप्रित सिंह सन्धुको प्रदर्शन प्रशंसनीय रह्यो । उनले कतारी खेलाडीहरुका थुप्रै डरलाग्दो प्रहारहरुलाई उत्कृष्ट रुपमा जोगाएका थिए ।

स्मरण रहोस, भारतले आफ्नो पहिलो खेलमा ओमानसँग २–१ को स्तब्धपुर्ण हार बेहोरेको थियो भने कतारले अफगानिस्तानमाथि ६–० को फराकिलो जित हात पारेको थियो ।

https://twitter.com/IndianFootball/status/1171508719059791873

छनौट प्रतियोगितातर्फ भारतसँगै समूह ई मा रहेको अर्को दुई दक्षिण एसियाली राष्ट्र अफगानिस्तान र बंगलादेशबीच सम्पन्न खेलमा अफगानिस्तान १–० ले बिजयी भयो ।

सोमबारको त्यो नतिजासँगै २ खेलबाट ४ अंक जोडेको कतार शिर्ष स्थानमा छ । १ खेल कम खेलेको ओमान ३ अंकका साथ दोस्रो स्थानमा छ भने समान ३ अंक जोडेको अफगानिस्तान तेस्रो स्थानमा छ । त्यस्तै २ खेलबाट १ अंक जोडेको चौथो स्थानमा छ भने अंकविहीन बंगलादेश पुछारमा छ ।

समूह इृ तर्फ अब अक्टुबर १५ तारीखका दिन भारतले बंगलादेशसँग कोलकातामा खेल्नेछ भने सोही दिन कतार र ओमान दोहामा भिड्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...