युरो छनौटमा रोनाल्डोको चार गोल (भिडियोसहित)

एजेन्सी । युरो २०२० को छनौट खेलतर्फ समूह बी मा रहेको साविक विजेता पोर्चुगलले मंगलबार शानदार जित दर्ता गरेको छ । युभेन्टस स्टार क्रिष्टियानो रोनाल्डोले ह्याट्रिकसहित चार गोल गरेको खेलमा पोर्चुगलले लिथुआनियालाई उसकै घरमा ५–१ ले हरायो ।

रोनाल्डोले पहिलो गोल सातौं मिनटमा पेनाल्टीबाट गरेका थिए । त्यस्तै ६१ र ६५औं गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेका थिए भने थप एक गोल ७६औं मिनटमा गरेका थिए । यो गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको गोलसंख्या ९३ पुगेको छ । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान बनाएका इरानका लिजेण्ड अली दाई भन्दा रोनाल्डो अब १६ गोलले मात्र पछाडी छन् ।

पोर्चुगलको जितमा पाँचौं गोल भने खेलको अन्तिमतिर इन्जुरी समयमा विलियम कार्वाल्होले गरेका थिए । उता लिथुआनियाका लागि एक मात्र सान्त्वना गोल २८औं मिनटमा भिटाउटस आन्द्रियुसकेभिसियसले गरेका थिए ।

यो जितसँगै ४ खेलबाट ८ अंक जोडेको पोर्चुगल समूह बी को दोस्रो स्थानमा छ । पाँच खेलबाट १३ अंक जोडेको युक्रेन शिर्ष स्थानमा छ भने मंगलबार नै लक्जेम्बर्गलाई १–३ ले हराएको सर्बिया तेस्रो स्थानमा छ । त्यसैगरी ४ र १ अंक जोडेको लक्जेम्बर्ग र लिथुआनिया क्रसम चौथो र पाँचौं स्थानमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...