डच स्टार स्नीजरको फुटबलबाट सन्यास

एजेन्सी । नेदरल्याण्डसका चर्चित आक्रमक मिडफिल्डर वेस्ले स्नीजरले ३५ बर्षको उमेरमा सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आफ्नो १७ बर्षे व्यवसायीक करियरमा स्नीजरले ६ फरक देशका क्लबहरुबाट खेल्न समेत भ्याए ।

स्नीजरले अन्तिमपटक कतारी क्लब अल घराफाबाट खेलेका थिए । यद्यपि गत जुलाईमा उनको कतारी क्लबसँगको सम्झौता सकिएपछि उनले सक्रिय फुटबलबाटै विश्राम लिने निर्णय गरेका छन् ।

स्मरण रहोस, गत बर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु अघि उनले नेदरल्याण्डसको राष्ट्रिय टोलीबाट पनि कुल १३४ म्याच खेलेका थिए । जुन नेदरल्याण्डसका लागि कुनै पनि खेलाडीले खेलेको सबैभन्दा बढी अन्तर्राष्ट्रिय म्याच समेत हो ।

सन् २०१० को फिफा विश्वकपमा नेदरल्याण्डसलाई फाइनलसम्म पुराएका स्नीजर सो प्रतियोगितामा दोस्रो सर्वोत्कृष्ट खेलाडी बन्दै सिल्वर बल हात पारेका थिए । त्यतिबेला प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उरुग्वेका डिएगो फोर्लान घोषित हुँदै उनले गोल्डेन बल जितेका थिए ।

आफ्नो क्लब करियरमा रियल मेड्रिड, इन्टर मिलान, गलतासारे शिर्ष युरोपियन टिमहरुदेखि पनि खेलेका स्नीजरले ती क्लबहरुबाट घरेलु लिग जित्न समेत सफल भएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...