बेलको भविष्यप्रति जिदानको ‘यु टर्न’

एजेन्सी । वेल्स स्टार गारेथ बेलको भविष्यलाई लिएर रियल मेड्रिडका म्यानेजर जिनेदिन जिदानले आफ्नो अभिव्यक्तिमा केही परिवर्तित भाव मिसाएका छन् । यसअघि जिदानले बेल रियलको स्क्वाडमा नरहने र उनी चाडै बर्नबेयु छाड्ने स्थितिमा पुगेको समेत सार्वजनिक रुपमै बताएका थिए ।

यद्यपि ट्रान्सफर डेडलाईनको मिति नजिकिंदै गर्दा अहिले आएर जिदानले आफ्नो विचारमा भने केही परिवर्तन ल्याएका छन् । साथै उनले बेल र अर्का कोलम्बियन स्टार जेम्स रोड्रिगेज दुवै बर्नबेयु मै रहने आशयको अभिव्यक्ति समेत दिएका छन् ।

आइतबार इटालियन जायन्ट एएस रोमा विरुद्धको मैत्रीपूर्ण खेलपश्चात बोल्दै जिदानले भने, “जेम्स र बेल दुवै स्क्वाडमा छन् । उनीहरु दुवै टोलीमा दर्ता छन् । तर यहाँ जे पनि हुन सक्छ । यद्यपि एउटा प्रशिक्षकका रुपमा म उनीहरुमाथि शतप्रतिशत विश्वास र आशा गर्छु ।”

स्मरण रहोस, आइतबार भएको सो खेलमा ३० बर्षिय बेल खेलको ६१औं मिनटमा करिम बेन्जेमाको स्थानमा मैदान प्रवेश गरेका थिए । सो खेल निर्धारित समयमा २–२ को बराबरीमा सकिए तापनि पेनाल्टी शुटआउटमा भने रियल ५–४ ले पराजित भएको थियो ।

उता जिदानको यो अभिव्यक्तिसँगै बेलले नयाँ सिजन रियल मै रहेर खेल्ने सम्भावना थप बलियो भएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...