साउदी विरुद्ध कुवेतको उत्कृष्ट पूनरागमन, जोर्डन हार्यो

एजेन्सी । इराकमा जारी वेस्ट एसियन फुटबल फेडरेशन (वाफ) च्याम्पियनसिपतर्फ आफ्नो पहिलो खेलमा कुवेतले रोमाञ्चक जित हात पारेको छ भने जोर्डनले हार बेहोरेको छ ।

प्रतियोगिता तर्फ समूह बी मा रहेको कुवेतले आफ्नो पहिलो खेलमा बलियो साउदी अरबलाई २–१ ले हरायो । खेलको १३औं मिनटमै रबी सुफयानीको गोलबाट साउदीले खेलमा अग्रता बनाएको थियो ।

तर खेलमा उत्कृष्ट पूनरागन गरेको कुवेतका लागि २५औं मिनटमा हुसैन अल मुसावीले पेनाल्टीबाट बराबरी गोल फर्काए भने ६७औं मिनटमा फैजल अल–आजमीले दोस्रो गोल गर्दै कुवेतको रोमाञ्चक जित पक्का गरे ।

उता समूह बी तर्फकै अर्को खेलमा जोर्डनले बहराईनसँग १–० को साँघुरो हार बेहोरेको छ । बहराईनको जितमा खेलको ६९औं मिनटमा इस्माइल अब्दुल–लतिफले एक मात्र निर्णायक गोल गरे ।

समूह चरणतर्फ दोस्रो खेलमा अब बुधबार बहराईनले साउदी अरबसँग भिड्नेछ भने सोही दिन जोर्डनले कुवेतको सामना गर्नेछ । प्रतियोगितामा सहभागि कुल ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली फाइनलमा प्रवेश गर्नेछ ।

स्मरण रहोस, कुवेत र जोर्डन फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ नेपाल, अष्ट्रेलिया र चाइनिज ताइपेइसँगै समूह बी मा परेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...