रोनाल्डोको गोलले पनि जोगिएन युभेन्टस्को हार

एजेन्सी । खेलको इन्जुरी समयमा सम्हालिन नसक्दा इटालियन च्याम्पियन युभेन्टस्ले इन्टरनेशनल च्याम्पियन्स कपतर्फ टोटेनह्याम हट्सपरसँग २–३ को हार बेहोरेको छ । सिंगापुर नेशनल स्टेडियममा भएको खेलमा टोटेनह्यामले नै शुरुवाती अग्रता बनाएको थियो ।

३०औं मिनटमा एरिक लामेलाले गोल गरेपछि युभेन्टस् विरुद्ध लण्डन क्लबले अग्रता बनाउन सफल भयो र त्यसलाई पहिलो हाफसम्म जोगायो । तर दोस्रो हाफको ५६औं मिनटमा गोन्जालो हिग्वेनले युभेन्टस्का लागि बराबरी गोल फर्काए । त्यस्तै ६०औं मिनटमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले गोल गर्दै ओल्ड लेडीलाई खेलमा अगाडी पुराए ।

तर युभेन्टस्को त्यो अग्रता पनि धेरैबेर टिक्न सकेन । प्रतिस्पर्धात्मक खेलको ६५औं मिनटमै लुकास मुराले टोटेनह्यामका लागि बराबरी गोल गर्दै खेललाई २–२ को अन्तरमा ल्याएका थिए । त्यसपछि खेल बराबरी मै सकिन लागेको बेला इन्जुरी समयको ९०+३औं मिनटमा इङलिस फरवार्ड ह्यारि केनले तेस्रो गोल गर्दै लण्डन क्लबको रोमाञ्चक जित पक्का गरे ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको टोटेनह्यामले आउँदो बुधबार म्यानचेष्टर युनाइटेडको सामना गर्नेछ भने त्यसको भोलीपल्ट युभेन्ट्सले इन्टर मिलानसँग भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...