अल्जेरिया दोस्रोपटक अफ्रिका च्याम्पियन (भिडियोसहित)

एजेन्सी । शुक्रबार राती झिनो अन्तरको जितका साथ अल्जेरिया दोस्रोपटक अफ्रिका कप अफ नेशन्सको विजेता बनेको छ । यसअघि अल्जेरियाले सन् १९९० मा घरेलु मैदान मै सम्पन्न प्रतियोगितामा पहिलोपटक विजेता बनेको थियो ।

इजिप्टको कायरो स्थित कायरो इन्टरनेशनल स्टेडियममा भएको रोमाञ्चक फाइनल भिडन्तमा अल्जेरियाले सेनेगललाई १–० को झिनो अन्तरले हराउँदै बिजेता बन्यो । खेल शुरु भएको दोस्रो मिनटमै बगदाद बुनिदाले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो ।

शुक्रबारको फाइनल खेललाई म्यानचेष्टर सिटीका अल्जेरियन स्टार रियाद महरेज र लिभरपुलका सेनेगल स्टार साडियो मानेबीचको भिडन्तका रुपमा समेत हेरिएको थियो । तर यी दुवै स्टार खेलाडीले फाइनलमा खासै प्रभाव जमाउन भने सकेनन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी अल्जेरियाका स्माइल बेनेसर बने भने उत्कृष्ट गोलरक्षक पनि अल्जेरिया कै रइस एम्बोली घोषित भए । स्माइल बेनेसरले गोल्डेन बल जिते भने रइस एम्बोलीले गोल्डेन ग्लोव जिते । त्यस्तै प्रतियोगिता भरि कुल ५ गोल गरेका नाइजेरियाका ओडियन इगालोले गोल्डेन बुट जिते ।


प्रतिक्रिया दिनुहोस

Loading...