पूर्व विजेता आइभोरी कोष्टमाथि अल्जेरियाको सनसनी, सेमिफाइनल समिकरण पूरा

एजेन्सी । बिहीबार भएका दुई क्वाटरफाइनल खेलहरुसँगै इजिप्टमा जारी अफ्रिका कप अफ नेशन्सको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । बिहीबार इजिप्टको सुईजमा सम्पन्न तेस्रो क्वाटरफाइनलतर्फ दुई पूर्वविजेता आइभोरी कोष्ट र अल्जेरिया बीचको भिडन्तमा अल्जेरियाले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ ।

सेमिफाइनल यात्रा तय गर्ने क्रममा अल्जेरियाले औभोरी कोष्टलाई पेनाल्टी शुटआउटमा ४–३ ले हरायो । यसअघि निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयमा पनि दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको २०औं मिनटमा सोफियन फेगुको गोलबाटे अल्जेरियाले शुरुवाती अग्रता बनाएको थियो ।

यद्यपि दोस्रो हाफको ६२औं मिनटमा आइभोरी कोष्टका लागि जोनाथन कोजियाले रोमाञ्चक बराबरी गोल फर्काएका थिए । त्यसपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिनु परेको थियो । जहाँ अल्जेरियाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

बिहीबार नै भएको चौथो क्वाटरफाइनलमा ट्युनिसियाले माडागास्करलाई ३–० ले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । बिहीबारको त्यो नतिजासँगै अब सेमिफाइनलमा अल्जेरियाले नाइजेरियाको सामना गर्नेछ भने ट्युनिसियाले सेनेगलसँग भिड्नेछ । सेमिफाइनलका दुवै खेल आइतबार हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...