कोस्टा प्रिमियर लिगमा फर्कन तयार

एजेन्सी । चर्चित स्पेनीस फरवार्ड डिएगो कोस्टा दुई बर्षपछि सनसनीपूर्ण रुपमा इङलिस प्रिमियर लिगमा फर्कन तयार रहेको द सनको रिपोर्टले जनाएको छ । रिपोर्टअनुसार ३० बर्षिय कोस्टाले इभर्टनमा आफ्नो सम्भावित स्थानान्तरणाई लिएर तयार छन् ।

पोर्चुगिज युवा स्टार जोआओ फेलिक्सको आगमन तथा अल्भारो मोराटो स्थायी रुपमा एटलेटिको मेड्रिडमा आवद्ध भएपछि कोस्टा यहि समरमा मेड्रिड छाड्ने मनसायमा छन् ।

रिपोर्टअनुसार कोस्टा सन् २०१७ मै इभर्टनमा आवद्ध हुने प्रक्रिया नजिक पुगेका थिए । अब अहिले आएर एटलेटिकोमा आफनो भविष्य अनिश्चित देखेपछि उनी यसै समर इभर्टन आउन तयार भएको रिपोर्टको दावी छ ।

गत सिजन बार्सिलोना विरुद्ध खेल्ने क्रममा रेफ्रीलाई अपशब्द प्रयोग गरेपछि कोस्टालाई ८ खेलको प्रतिबन्ध लगाइएको थियो । एटलेटिकोमा आवद्ध हुनु अघि इङलिस क्लब चेल्सीमा बिताएका कोस्टाले लण्डनमा शानदार र विवादास्पद दुवै रुपमा तीन सिजन कटाएका थिए ।

चेल्सीमा रहँदा जोसे मौरिन्हो र एन्टोनियो कोन्टेको व्यवस्थापकीय जिम्मेवारीमा प्रिमियर लिग जितेका कोस्टाले केही समय पश्चात् ब्राजील पुगेर चेल्सीले आफूमाथि अपराधी सरहको व्यवहार गरेको सनसनीपूर्ण आरोप लगाएका थिए । त्यो घट्नाले त्यतिबेला खुबै चर्चा पनि पाएको थियो । त्यसै क्रममा उनले चेल्सी छोड्दै एटलेटिकोलाई रोजेका थिए ।

कोस्टालाई इभर्टनमा ल्याउँदा क्लबका लागि केही कठिन परिस्थिति श्रृजना हुन सक्ने बताइए तापनि मैदानको उनको आक्रमक र उत्कृष्ट फिनिसिङ तथा काउन्टर अट्याकका कारण प्रिमियर लिगमा उनी फेरि जम्न सक्ने धेरैको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस

Loading...