एटलेटिको छाड्दै ग्रीजम्यान, अबको गन्तव्य कता ?

एजेन्सी । पाँच बर्षको लामो बसाई पश्चात स्पेनीस क्लब एटलेटिको मेड्रिडका स्ट्राइकर एन्टोइन ग्रीजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् । गत जुनमा पाँच बर्षको नयाँ सम्झौता गरे तापनि शनिबार ला लिगातर्फ लेभान्टे विरुद्धको खेल ग्रीजम्यानका लागि एटलेटिकोको जर्सीमा अन्तिम खेल हुनेछ ।

यो एउटा अविश्मरणीय क्षण थियो । सबै कुराहरुको लागि धन्यवाद । एटलेटिको छोड्ने घोषणा गरेका ग्रिजम्यानले भनेका छन् । एटलेटिको छोडेसँगै ग्रीजम्यान फ्रि एजेन्ट हुनेछन् । रिपोर्टअनुसार ग्रीजम्यानका लागि बायआउट क्लजसहित बार्सिलोनाले १२० मिलियन युरो तिर्न तयार छ ।

रियल सोसिडाडबाट सन् २०१४ मा एटलेटिकोमा आवद्ध भएका ग्रीजम्यानले क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै २५६ खेलमा १३३ गोल समेत गरेका थिए । त्यसक्रममा उनले युरोपा लिग, स्पेनीस सुपर कप, यइएफए सुपर कपको उपाधि पनि जितेका थिए ।

यस सिजन एटलेटिको छोड्ने ग्रीजम्यान तेस्रो मुख्य खेलाडी हुन् । यसअघि लुकास हर्नान्डेज र डिएगो गोडिनले पनि क्लब छाड्ने घोषणा गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...