लुकासको ह्याट्रिकसँगै टोटेनह्याम नाटकीय जितका साथ च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । लुकास मुराले नाटकीय रुपमा शानदार ह्याट्रिक गरेपछि टोटेनह्याम हट्सपर रोमाञ्चक जितका साथ च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगतर्फ योहान क्रुफ स्टेडियममा बुधबार राती घरेलु टोली एजाक्सलाई ३–२ ले हराएको टोटेनह्यामले समग्रमा ३–३ को बराबरी गर्दै अवे गोलको सहयोगमा फाइनल यात्रा तय गर्न सफल भयो ।

यसअघि पहिलो लेगतर्फ घरेलु मैदानमा भएको खेलमा टोटेनह्यामले ०–१ को स्तब्धपुर्ण हार बेहोरेको थियो । बुधबार एम्सटर्डममा खेलको शुरुवात गर्दा पनि पहिलो हाफमा स्पर्सको प्रदर्शन निकै खराब रह्यो ।

खेलको पाँचौं मिनटमै एजाक्सका १९ बर्षिय कप्तान मेथिस डे लिटले घरेलु टोलीका लागि पहिलो गोल गरे भने ३५औं मिनटमा हाकिम जियचले दोस्रो गोल गर्दै स्पर्स विरुद्ध समग्रमा पहिलो हाफसम्म ३–० को अग्रता बनाउन सफल भएको थियो ।


पहिलो हाफमै ३–० ले पछि परेको टोटेनह्यामले दोस्रो हाफमा भने शानदार पूनरागमन गर्यो । खेलको ५५औं र ५९औं मिनटमा लुकास मुराले लगातार दुई गोल गर्दै टोटेनह्यामलाई खेलमा फर्काउने संकेत देखाए । खेलको अन्तिमसम्म हार नमानेको टोटेनह्यामका लागि इन्जुरी समयको ९६औं मिनटमा लुकासले नै तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने टोलीलाई रोमाञ्चक रुपमा फाइनलसम्म समेत पुराए ।

यो जितसँगै टोटेनह्यामले फाइनलमा जुन १ तारीखका दिन अर्को इङलिस क्लब लिभरपुलको सामना गर्नेछ । युरोपियन भिडन्तको इतिहासमा दुई इङलिस क्लब फाइनलमा भिड्न लागेको यो तेस्रो पटक हो । यसअघि सन् १९७२ को युइएफए कपको फाइनलमा स्पर्स र वोल्भ्स भिडेका थिए भने सन् २००८ को च्याम्पियन्स लिग फाइनलमा म्यानचेष्टर युनाइटेड र चेल्सी भिडेका थिए ।

साथै च्याम्पियन्स लिगमा सेमिफाइनलको पहिलो लेगमा घरेलु मैदानमा हारेर पनि फाइनलमा पुग्ने टोटेनह्याम दोस्रो टोली बनेको छ । यसअघि सन् १९९५–९६ मा एजाक्सले पानाथाईनिकोस विरुद्ध यो उपलब्धी सफलता हासिल गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...