बार्सा फरवार्ड सुआरेजले मागे माफी

एजेन्सी । बार्सिलोनाका चर्चित फरवार्ड लुइस सुआरेजले च्याम्पियन्स लिगतर्फ सेमिफाइनलको दोस्रो लेगमा स्तब्धपूर्ण हार बेहोरेपछि माफी मागेका छन् । स्मरणीय छ, मंगलबार राती एनफिल्डमा भएको सेमिफाइनलतर्फको दोस्रो लेगमा बार्सिलोनाले लिभरपुलसँग ४–० को अप्रत्याशित हार बेहोरेको थियो ।

त्यो हारसँगै समग्रमा बार्सिलोना ४–३ ले पराजित हुँदै च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिन पुगेको थियो । यसअघि नोउ क्याम्पमा भएको पहिलो लेगमा बार्सिलोनाले लिभरपुलमाथि ३–० को जित निकालेको थियो ।

त्यो जितपछि धेरैले यसपटक बार्सिलोनाले च्याम्पियन्स लिग जित्ने अड्कलबाजी समेत काटेका थिए । नोउ क्याम्पमा सुआरेजले पनि आफ्नो पूर्व क्लबबविरुद्ध गोल गरेपछि अस्भाविक रुपमा खुशी मनाएका थिए । यद्यपि पूर्व क्लब लिभरपुलविरुद्ध त्यसरी खुशी मनाएपछि लिभरपुल कै समर्थक सुआरेजसँग रिसाएका थिए भने सामाजिक सञ्जालमा उनको चर्को आलोचना समेत भएको थियो ।


मंगलबार लिभरपुलको हातबाट हार बेहोरेपछि सुआरेजले प्रतिक्रिया दिने क्रममा भनेका छन्, हाम्रो प्रदर्शनका लागि हामीले माफी माग्नुपर्छ, हामी एक टिमका रुपमा थिएनौं । हाम्रो परिवार, समर्थक, सन्तान सबैसँग हामीले माफी माग्नुपर्छ ।

उता लगातार दोस्रोपटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको लिभरपुलले जुन १ तारीखका दिन आज राती हुने टोटेनह्याम हट्सपर र एजाक्सबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...