कप्तान कोम्पनी निर्णायक बन्दा सिटी लिग उपाधि नजिक

एजेन्सी । साविक विजेता म्यानचेष्टर सिटी इङलिस प्रिमियर लिगतर्फ सोमबार राती कठिन जितका साथ उपाधि जित्ने संघारमा पुगेको छ । इतिहाद स्टेडियममा भएको खेलमा सिटीले लेस्टर सिटीलाई १–० को साँघुरो अन्तरले हरायो ।

खेलमा सिटीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । आफ्ना फरवार्डहरुले बललाई गोलपोष्टको दिशा दिन नसक्दा सिटी लिग उपाधि जित्ने अभियानबाट बाहिरिन सक्ने अवस्थामा पनि पुगेको थियो । यद्यपि खेल सकिन २० मिन बाँकी छँदा सिटीका कप्तान भिन्सेन्ट कोम्पनी नायक भईदिए ।


कोम्पनीले खेलको ७०औं मिनटमा माथिल्लो बाँया कुना च्यापेर एक मात्र निर्णायक गोल गरेपछि सिटी लिग उपाधि जित्ने संघारमा पुगेको हो । यो जितसँगै सिटी ३७ खेलबाट ९५ अंक जोड्दै फेरि शिर्ष स्थानमा उक्लिएको छ । ९४ अंक जोडेको लिभरपुल भने दोस्रो स्थानमा छ ।

सिटीले आइतबार अब ब्राईटनसँग उसकै घरेलु मैदानमा खेल्ने छ । त्यहाँ सिटीले जित हात पारे उसले उपाधि जोगाउन पनि सफल हुनेछ । उता पराजित लेस्टर भने ५१ अंकका साथ नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...