लिभरपुलको उपाधि होड कायमै (भिडियोसहित)

एजेन्सी । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका डेभोक ओरिगीले निर्णायक गोल गरेपछि इङलिस प्रिमियर लिगमा शनिबार रोमाञ्चक जितका साथ लिभरपुलले आफ्नो उपाधि होडलाई कायम राखेको छ ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा लिभरपुलले घरेलु टोली न्युक्यासल युनाइटेडलाई ३–२ ले हराउँदै लिगतालिकाको फेरि शिर्ष स्थानमा समेत उक्लिएको छ । लिभरपुलका लागि १३औं मिनटमा भर्जिल भान डाईकले पहिलो गोल गरे ।

तर लगतै २०औं मिनटमा क्रिष्टियन आत्सुले न्युक्यासलका लागि बराबरी गोल फर्काएका थिए । तर त्यसको दश मिनट बित्न नपाउँदै २८औं मिनटमा मोहमद सलाहले लिभरपुललाई दोस्रोपटक खेलमा अग्रता दिलाए । पहिलो हाफसम्म २–१ को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा फेरि बराबरी गोल खान पुगेको थियो ।


उता ५४औं मिनटमा सोलोमन रोन्डोनले न्युक्यासलका लागि दोस्रोपटक बराबरी गोल फर्काए । त्यस्तै सलाहले खेलमा चोटिल बन्दै मैदान छाडेपछि उनको स्थानमा मैदान प्रवेश गरेको ओरिगीले ८६औं मिनटमा तेस्रो तथा निर्णायक गोल गर्दै रेड्सको उपाधि होडलाई इथावत राख्नय अहम भूमिका खेले ।

यो जितपछि ३७ खेलबाट ९४ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा उक्लिएको छ । अब उपाधि जोगाउने अभियानमा रहेको साविक विजेता म्यानचेष्टर सिटीले आफ्नो उपाधि होडको सम्भावनालाई कायम राख्न सोमबार लेस्टर सिटीलाई हराउनै पर्नेछ । उता पराजित न्यूक्यासल भने ४२ अंकका साथ १४औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...