‘किंग पावर’मा हार्दा आर्सनलको च्याम्पियन्स लिग खेल्ने सम्भावना कठिन

एजेन्सी । इङलिस प्रिमियर लिगतर्फ आइतबार आर्सनलले लेस्टर सिटीसँग ०–३ को हार बेहोरेपछि आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना थप कठिन भईदिएको छ ।

लेस्टरको घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा इङलिस फरवार्ड जेमी भार्डीले दुई गोल गरेपछि दश खेलाडीमा सिमित आर्सनल स्तब्ध बन्न पुग्यो ।

पहिलो हाफको ३६औं मिनटमा एन्सली मेटलेन्ड नाईल्सले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि आर्सनल थप दबाबमा पर्न पुगेको थियो । जसको फाईदा लेस्टरले दोस्रो हाफमा उठायो ।


खेलको ५९औं मिनटमा अनमार्क रहेका युरी तिलेमान्सले लेस्टरका लागि हेडद्वारा पहिलो गोल गरे । त्यस्तै खेलको अन्तिमतिर ८६औं र ९५औं मिनटमा भार्डीले लगातार दुई गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरे ।

आइतबारको नतिजापछि प्रिमियर लिगमा लगातार तेस्रो हार बेहोरेको आर्सनल ३६ खेलबाट ६६ अंकका साथ पाँचौं स्थानमा छ र एक खेल कम खेल्दै चौथो स्थानमा रहेको चेल्सी भन्दा एक अंकले पछि परेको छ । उता ५१ अंकका साथ आठौं स्थानमा रहेको लेस्टरको आगामी सिजन युरोपा लिग खेल्ने झिनो सम्भावना कायमै छ ।


प्रतिक्रिया दिनुहोस

Loading...