युनाइटेडको महत्वपुर्ण जितमा पोग्बाको ‘डबल स्ट्राईक’ (भिडियोसहित)

एजेन्सी । प्रिमियर लिगतर्फ शनिबार फ्रेन्च स्टार पाउल पोग्बाले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले वेस्ट ह्याममाथि २–१ को महत्वपूर्ण जित निकालेको छ । ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडका लागि दुवै गोल पेनाल्टीबाट सम्भव भएको थियो ।

खेलको पहिलो हाफतर्फ वेस्ट ह्यामका खेलाडीले हुवाँ माटालाई बक्स भित्र फल गरेपछि घरेलु टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसलाई १९औं मिनटमा पोग्बाले बिना कुनै गल्ती गोलमा परिणत गरेका थिए । यद्यपि दोस्रो हाफको शुरुवाततिर ४९औं मिनटमा फेलिपे एन्डरसनले वेस्ट ह्यामका लागि गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।


खेल बराबरीतर्फ नै लम्कीरहेको बेला वेस्ट ह्यामका रेयान फ्रेडरिक्सले एन्थोनी मार्शललाई बक्स भित्र फल गरेपछि म्यानचेष्टर युनाइटेडले फेरि पेनाल्टीको अवसर पाएको थियो । जसलाई पनि ८०औं मिनटमा पोग्बाले गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।

यो जितसँगै ३३ खेलबाट ६४ अंक जोडेको म्यानचेष्टर पाँचौं स्थानमा उक्लिएको छ र चौथो स्थानमा रहेको चेल्सीभन्दा २ अंकले मात्र पछाडी छ । त्यस्तै पराजित वेस्ट ह्याम भने ४२ अंकका साथ ११औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...