दशकपछि चार इङलिस क्लब च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । प्रतिष्ठित युइएएफए च्याम्पियन्स लिगतर्फ बुधबार रातीको खेलहरुको समाप्तीसँगै प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने टोलीहरुको पनि टुँगो लागेको छ ।

यसपटक क्वाटरफाइनलमा इङल्याण्डका चार क्लब (टोटेनह्याम, म्यानचेष्टर सिटी, लिभरपुल र म्यानचेष्टर युनाइटेड) ले क्वाटरफाइनलमा स्थान बनाएका छन् । स्मरणीय छ, यसअघि सन् २००८–०९ को सिजनमा चार इङलिस क्लबहरु क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।


त्यस्तै अन्य चार टोलीहरुमा युभेन्ट्स (इटाली, एजाक्स (नेदरल्याण्ड्स), बार्सिलोना (स्पेन) र पोर्टो (पोर्चुगल) रहेका छन् । डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड भने नकआउट चरणतर्फ एजाक्ससँग स्तब्ध हुँदै प्रतियोगिताबाटै बाहिरिएको थियो ।

त्यसैगरी लिभरपुलले बुधबार बायर्न म्युनिखलाई पाखा लगाएको थियो भने बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई हराएको थियो । त्यस्तै सिटीले साल्केलाई हराएको थियो भने युभेन्ट्सले एटलेटिको मेड्रिडलाई निराश तुल्याएको थियो ।


उता टोटेनह्यामले बोरुसिया डर्टमुण्डलाई हराउँदा म्यानचेष्टर युनाइटेडले भने फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई नकआउट चरणमा निराश बनाएको थियो ।

डेलीमेलका अनुसार क्वाटरफाइनल ड्र शुक्रबार निकालिने तय भएको छ । त्यस्तै क्वाटरफाइनलतर्फ पहिलो लेगको खेल ९ र १० अप्रिलका दिन हुनेछ भने दोस्रो लेगको खेल १६ र १७ अप्रिलका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...