मेसीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले दुई गोल गर्नुका साथै दुई गोलको अवसर पनि मिलाई िदिएपछि बार्सिलोना उत्कृष्ट जितका साथ च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राती भएको नकआउट चरणतर्फको दोस्रो लेगमा बार्साले फ्रेन्च क्लब लियोनलाई ५–१ ले हरायो र क्वाटरफाइनल स्थान सुरक्षित गर्यो । यसअघि लियोनलको घरेलु मैदानमा सम्पन्न पहिलो लेगको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेको थिए ।

घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि १७ औं मिनटमा मेसीले पेनाल्टीबाट पहिलो गोल गरे । त्यस्तै ३१ औं मिनटमा फिलिपे काउटिन्होले त्यो अग्रता दोब्बर पारे । यद्यपि ५८ औं मिनटमा लुकास टुसार्टले लियोनका लागि पहिलो गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन ।


उता ७८ औं मिनटमा मेसीले नै बार्सिलोनाका लागि तेस्रो गोल गरे भने ८१ र ८६ औं मिनटमा क्रमश जेरार्ड पिके र उसमाने डेम्बेलेले लगातार दुई गोल गर्दै क्याटलन जायन्टको प्रभावशाली जित पक्का गरे । बार्सिलोनाको अन्तिम दुई गोलका लागि मेसीले नै पास मिलाईदिएका थिए ।

यो जितसँगै च्याम्पियन्स लिगतर्फ बार्सिलोनाले घरेलु मैदानमा खेलेको पछिल्ला ३० खेलहरुमा अपराजित छ । त्यसमध्ये बार्साले २७ मा जित र ३ मा बराबरी गरेको छ । च्याम्पियन्स लिगमा यति लामो समयसम्म अपराजित रहने बार्सिलोना एक्लो टोली समेत बनेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...