म्यानचेष्टर युनाइटेडले दियो मौरिन्होलाई दुई अरब भन्दा बढी क्षतिपुर्ति रकम

एजेन्सी । गत डिसेम्बरमा मात्र बर्खास्तीमा परेका पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई म्यानचेष्टर युनाइटेडले क्षतिपुर्ति वापत १५ मिलियन पाउण्ड (दुई अरब १५ करोड रुपैैया भन्दा बढी क्षतिपुर्ति रकम दिएको छ ।

प्रिमियर लिगतर्फ परस्पर प्रतिद्वन्द्वी लिभरपुलसँग ३–१ को हार बेहोरेपछि म्यानचेष्टर युनाइटेडले मोरिन्होलाई बर्खास्त गरेको थियो । त्यतिबेला त्यो हारपश्चात् रेड डेभिल्स अंकतालिकामा लिभरपुलभन्दा १९ अंकले पछि परेको थियो ।

डेलीमेलका अनुसार मौरिन्होलाई क्लबले एकमुष्ट रकम दिएको बताइएको छ । यो क्षतिपुर्ति पाएसँगै मौरिन्होले अब फेरि व्यवस्थापकीय जिम्मेवारी सम्हाल्न सक्ने छन् ।


ढाई बर्ष ओल्ड ट्राफोर्डमा बिताउने क्रममा ५५ बर्षिय मौरिन्होले युनाइटेडलाई लिग कप, कम्युनिटी शिल्ड र युरोपा लिगको उपाधि समेत जिताएका थिए । तर खेलाडीहरुसँगको खराब सम्बन्धका कारण पनि उनको प्रशिक्षकीय जिम्मेवारी धरापमा पर्न पुगेको बताईन्छ ।

रिपोर्टअनुसार मौरिन्होले हालै पोर्चुगिज क्लब बेनफिकाको म्यानेजर बन्ने प्रस्ताव अस्वीकार गरेका थिए । स्रोतको दावीअनुसार मौरिन्होले अझै पनि युरोपको चल्तीका शिर्ष क्लबहरुको जिम्मेवारी सम्हाल्न इच्छुक छन् ।

साथै उनको नाम अहिले स्पेनीस जायन्ट रियल मेड्रिडसँग पनि जोडिएको छ । स्मरणीय छ रियलमा उनले सन् २०१० देखि २०१३ सम्म तीन सिजन बिताएका थिए । त्यसक्रममा उनले रियललाई ला लिगा र कोपा डेल रे को उपाधि पनि जिताएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...