एसियन कप : दोस्रो खेलमा भारत पराजित

एजेन्सी । एएफसी एसियन कपको समूह चरणतफै आफ्नो पहिलो खेलमा थाइल्याण्डमाथि उत्कृष्ट जित हात पारेको दक्षिण एसियाली राष्ट्र भारतले दोस्रो खेलमा भने हार बेहोरेको छ ।

बिहीबार राती अबुधाबीमा सम्पन्न ए तर्फको खेलमा भारतले आयोजक युएईसँग २–० को हार बेहोरेको हो । खेलमा कप्तान सुनिल क्षेत्रीको केही सुन्दर प्रयास गोलमा परिणत हुन नसक्दा भारत चुकचुकाउन पर्यो ।

उता बलमा अधिकांश समय आफ्नो पकड बनाएको युएईका लागि ४१ औं मिनटमा खल्फन मुबारकले पहिलो गोल गरे । त्यस्तै खेलको अन्तिमतिर ८८ औं मिनटमा अली मबखुतले दोस्रो गोल गर्दै घरेलु टोलीलाई पहिला जित दिलाए ।


यो जितसँगै २ खेलबाट ४ अंक जोडेको युएई शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित भारत भने ३ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै समान अंक भए तापनि गोल भिन्नताका आधारमा थाइल्याण्ड तेस्रो स्थानमा छ भने १ अंकका साथ बहराईन पुछारमा छ ।

अब समूह चरणको अन्तिम खेलमा सोमबार युएईले थाइल्याण्डको सामना गर्नेछ भने भारतले बहराईनसँग खेल्नेछ । समूह ए बाट चारै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना पनि कायम छ ।


प्रतिक्रिया दिनुहोस

Loading...