अलीलाई बोतल प्रहार गर्नेको पहिचान भएको आर्सनलको दावी

एजेन्सी । आर्सनलले टोटेनह्याम हट्सपरका इङलिस मिडफिल्डर डेले अलीलाई प्लाष्टिकको बोतलले प्रहार गर्ने फुटबल समर्थकलाई पहिचान गरेको बताएको छ । साथै गनर्सले यो घट्नाले आफूहरुलाई लज्जित तुल्याएको भन्दै दुःख समेत व्यक्त गरेको छ ।

काराबाओ कप (लिग कप) को क्वाटरफाइनलतर्फ बुधबार आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलका क्रममा २२ बर्षिय अलीलाई प्लाष्टिकको बोतलले उनको टाउको प्रहार गरिएको थियो । त्यो बोतल प्रहारले अलीलाई खासै गम्भिर चोट नलागे तापनि त्यो घट्नाको चौतर्फी आलोचना र निन्दा भएको थियो ।

त्यो खेलमा टोटेनह्यामले २–० को जित हासिल गर्दै सेमिफाइनल यात्रा समेत तय गर्न सफल भएको थियो । यो घट्नाबारे हाले पुलिसले पनि आवश्यक छानबीन गरिरहेको छ ।


उता क्लबले सार्वजनिक गरेको वक्तव्यमा भनिएको, “यो घट्नामा दोषी पाइएको जो कसैलाई पनि स्टेडियम प्रवेशमा लामो प्रतिबन्ध लगाइनुका साथै सम्बन्धित व्यक्तिको विस्तृत विवरण पुलिसलाई बुझाइनेछ ।”

बीबीसीका अनुसार उता लण्डन पुलिसले पनि आर्सनलसँग सहकार्य गरेर त्यो घट्नामा संलग्न रहेकाको पहिचान गर्ने कार्य जारी रहेको तर कसैलाई पक्राउ नगरिएको बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...