सनसनीपूर्ण जितका साथ अल ऐन क्लब विश्वकपको फाइनलमा (भिडियोसहित)

(तस्विर : फिफा)

एजेन्सी । सनसनीपूर्ण जित हात पार्दै युएइृको प्रो लिग च्याम्पियन अल–ऐन एफसी जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

युएईको अबुधाबीमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा अल ऐनले दक्षिण अमेरिकी च्याम्पियन रिभर प्लेटलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

अबुधाबीमा भएको खेलको तेस्रो मिनटमै मार्कस बर्गले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर गत महिना मात्र कोपा लिबर्टाडोरेसको उपाधि जितेको रिभर प्लेटका लागि राफेल सान्तोष बोर्रेले लगातार ११ औं र १६ औं मिनटमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए ।

तर दोस्रो हाफको ५१ औं मिनटमा लुकास फर्नान्डेसले अल ऐनका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछि थपिएको अतिरिक्त समयमा पनि ुदवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिनुपरेको थियो ।


पेनाल्टीमा भने अल ऐनका सबै खेलाडीले गोल गर्न सफल भए । उता रिभर प्लेटका एन्जो पेरेजको प्रहार घरेलु टोलीका गोलरक्षक खालिद इसाले रोकेपछि घरेलु टोलीको सनसनीपूर्ण जित पक्का भएको थियो ।

अल ऐनले अब फाइनलमा बुधबार हुने काशिमा एन्टलर्स र साविक विजेता रियल मेड्रिडबीचको दोस्रो सेमिफाइनलको बिजेतासँग उपाधिका लागि खेल्नेछ । फाइनल खेल शनिबार अबुधाबी मै हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...