लिग कप : संघर्षपूर्ण जितका साथ डिफेन्डिङ च्याम्पियन सिटी सेमिफाइनलमा (भिडियोसहित)

एजेन्सी । कठिन जितका साथ डिफेन्डिङ च्याम्पियन म्यानचेष्टर सिटी प्रतिष्ठित लिग कप (काराबाओ कप) को सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम चारमा स्थान सुरक्षित गर्ने क्रममा सिटीले लेस्टर सिटीलाई पेनाल्टी शुटआउटमा ३–१ ले हरायो ।

यसअघि लेस्टरको घरेलु मैदानमा सम्पन्न निर्धारित समयको खेल दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । खेलमा शुरुवाती गोलको अग्रता सिटीले नै लिएको थियो । पहिलो हाफको १४ औं मिनटमा केभिन डि ब्रुईनले सिटीका लागि पहिलो गोल गरे । यस सिजन ब्रुइनको यो पहिलो गोल समेत हो ।


पहिलो हाफसम्म खासै गतिलो प्रदर्शन गर्न नसकेको लेस्टरले दोस्रो हाफमा भने खेलमा फर्किएको थियो । दोस्रो हाफतर्फ ७३ औं मिनटमा मार्क अब्राईटनले लेस्टरका लागि बराबरी गोल फर्काएका थिए । टाइब्रेकरमा लेस्टरका तीन खेलाडीलाई पेनाल्टी मिस गर्नु दुर्भाग्यपुर्ण बन्यो ।

बर्टनसँग मिडल्सब्रो स्तब्ध

मंगलबार राती नै भएको अर्को क्वाटरफाइनलमा तेस्रो डिभिजनको टोली बर्टनले च्याम्पियनसिप क्लब मिडल्सब्रोलाई स्तब्ध पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मिडल्सब्रोको घरेलु मैदानमा सम्पन्न खेलमा बर्टनले १–० को जित निकाल्यो ।

बर्टनको जितमा खेलको ४८ औं मिनटमा ज्याक हस्केथले एकमात्र निर्णायक गोल गरे । लिग कपतर्फ आज पनि दुई क्वाटरफाइनल खेल हुँदैछन् । आर्सनलले शहरी प्रतिद्वन्द्वी टोटेनह्यामको सामना गर्दैछ भने चेल्सीले बर्नमाउथसँग भिड्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...