युनाइटेडको नयाँ म्यानेजरको सूचीमा जिदानको नाम अगाडी

एजेन्सी । चर्चित बेलायती वेबसाईट डेली मेलको रिपोर्टलाई आधार मान्ने हो भने फ्रेन्च लिजेण्ड जिनेदिन जिदान म्यानचेष्टर युनाइटेडको नयाँ व्यवस्थापक बन्ने सम्भावना बलियो छ ।

गत सिजन रियल मेड्रिडलाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जिताएपछि ४६ बर्षिय जिदाने हाल फुर्सदमा छन् र रेड डेभिल्सको नयाँ म्यानेजरका रुपमा उनको नाम पनि अगाडी सारिएको छ ।

मंगलबार बिहान मात्र पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेको युनाइटेडले ४८ घण्टा भित्र यस सिजनका लागि एक कार्यवाहक म्यानेजरको घोषणा गर्ने डेलीमेलको दावी छ । कार्यवाहक म्यानेजरका रुपमा युनाइटेड कै पूर्व डिफेन्डर तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्व म्यानेजर लाउरेन्ट ब्लान्कको नाम अगाडी छ ।

युनाइटेडको सहायक प्रशिक्षकमा माइकल क्यारिक रहे तापनि उनले कार्यवाहक व्यवस्थापकको जिम्मेवारी नसम्हाल्ने बुझिएको छ । हाल युनाइटेडले मुख्य रुपमा क्लबको अन्तरिम जिम्मेवारी सम्हाल्ने गरी कार्यवाहक म्यानेजरको खोजीमा छ ।

कार्यवाहक म्यानेजरको नियुक्ति पछि नै क्लबले मौरिन्होको स्थानमा स्थायी रुपमा कसलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गर्ने हो, त्यसबारे निर्णय गर्नेछ ।

डेली मेलका अनुसार म्यानचेष्टर युनाइटेडको सम्भावित स्थायी म्यानेजरको सूचीमा जिदानको नाम सबैभन्दा अगाडी छ । त्यसपछि माइकल क्यारिक, लाउरेन्ट ब्लान्क, पूर्व चेल्सी म्यानेजर एन्टोनियो कोन्टे, टोटेनह्यामका वर्तमान प्रशिक्षक मोरिसियो पोचेटिनो तथा लिभरपुल, रियल मेड्रिड र चेल्सीको जिम्मेवारी सम्हालि सकेका राफेल बेनिटेजको नाम पनि यो सूचीमा सामेल छ । हाल बेनिटेज न्युक्यासलको म्यानेजरका रुपमा कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...