म्यानचेष्टर युनाइटेडद्वारा मौरिन्हो बर्खास्त

एजेन्सी । क्लब व्यवस्थापनमा असफल भएको ठहराउँदै म्यानचेष्टर युनाइटेडले आफ्नो पोर्चुगिज म्यानेजर जोसे मौरिन्होलाई मंगलबार बर्खास्त गरेको छ ।

सन् २०१६ मा युनाइटेडको जिम्मेवारी सम्हालेका ५५ बर्षिय मौरिन्होले रेड डेभिल्सलाई लिग कप र युरोपा लिगको उपाधि पनि जिताएका थिए । तर यस सिजन शुरुवातबाटै कमजोर प्रदर्शन गरिरहेको युनाइटेड हाल प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा १९ अंकले पछाडी परेको छ ।

११ खेलाडीका लागि ४०० मिलियन पाउण्ड खर्चिएर पनि कुनै परिवर्तन र प्रगति हात नलागेपछि क्लबले मौरिन्होलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।


बीबीसीका अनुसार म्यानचेष्टर युनाइटेड अहिले प्रिमियर लिगको अंकतालिकामा छैठौं स्थानमा रहे तापनि क्लब शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा रेलिगेशन क्षेत्रको क्लबहरुसँग नजिक रहेको छ । क्लबले मौरिन्होलाई बर्खास्त गर्ने निर्णय धेरै छलफल र विचार गरेर गरेको बताएको छ ।

साथै क्लबले नयाँ म्यानेजर छिट्टै नियुक्त गर्ने समेत जनाएको छ । यद्यपि तत्कालका लागि क्लबको व्यवस्थापनको जिम्मेवारी सहायक प्रशिक्षकहरुले लिने छन् । रिपोर्ट अनुसार कतिपयले आर्सनलका पूर्व म्यानेजर आर्सेन वेंगरलाई क्लबको भावी प्रशिक्षकका रुपमा लिएका थिए । तर युनाइटेडले क्लबको जिम्मेवारी वेंगरलाई नदिने स्पष्ट पारेको छ ।

मौरिन्होको व्यवस्थापनमा कुल १४४ म्याच खेलेको म्यानचेष्टर युनाइटेडले त्यसमध्ये ८४ मा जित, ३२ मा बराबरी र २८ खेलमा हार बेहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...