च्याम्पियन्स लिग नकआउट ड्र : फेरि मेड्रिड फर्किदै रोनाल्डो

एजेन्सी । गत समर रियल मेड्रिडबाट युभेन्ट्समा आवद्ध भएका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो फेरि मेड्रिड आउने भएका छन् । तर यसपटक उनको यात्रा भने केही फरक छ ।

सोमबार निकालिएको च्याम्पियन्स लिगको नकआउट चरणको ड्र तर्फ युभेन्टसले एटलेटिको मेड्रिडलाई प्रतिद्वन्द्वीका रुपमा पाएपछि रोनाल्डोको मेड्रिड फर्किने निश्चित भएको छ ।

स्मरणीय छ कि रियललाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जिताएपछि रोनाल्डोले गत समर ट्रान्सफरमा १०५ मिलियन युरोमा युभेन्ट्समा आवद्ध भएका थिए ।

त्यसैगरी च्याम्पियन्स लिगतर्फ साविक विजेता रियल मेड्रिडले तुलनात्मक रुपमा केही कमजोर प्रतिद्वन्द्वी पाएको छ । रियलले नकआउट चरणमा डच क्लब एजाक्सको सामना गर्ने भएको छ ।

गत संस्करणको उपविजेता लिभरपुलले भने यस सिजन खराब लयमा देखिएको जर्मन जायन्ट बायर्न म्युनिखलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ । त्यस्तै अर्को इङलिस क्लब म्यानचेष्टर युनाइटेडले भने तुलनात्मक रुपमा बलियो पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।

त्यस्तै इङलिस च्याम्पियन म्यानचेष्टर सिटीले भने अर्को जर्मन क्लब साल्केसँग भिड्ने भएको छ । त्यसैगरी समूह चरणमा सनसनीपूर्ण जित हात पार्दै नकआउट चरणमा स्थान बनाएको टोटेनह्याम हट्सपरले बोरुसिया डर्टमुण्डलाई बिपक्षीका रुपमा पाएको छ ।

क्याटलन जायन्ट बार्सिलोनाले तुलनात्मक रुपमा सहज मानिएको फ्रेन्च क्लब लियोनसँग नकआउट चरणमा भिड्नेछ भने एएस रोमाले पोर्चुगिज क्लब एफसी पोर्टोलाई प्रतिद्वन्द्वीका रुपमा पाएको छ ।

नकआउट चरणतर्फ पहिलो लेगका खेलहरु आउँदो फेब्रुअरी १२ र १३ तथा १९ र २० तारीखका दिन हुनेछ । त्यस्तै दोस्रो लेगका खेलहरु ५ र ६ तथा १२ र १३ मार्चका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...