बार्सिलोना ग्रेट एमोरको दावी, “मेसी विश्व कै उत्कृष्ट”

एजेन्सी । स्पेनीस ला लिगातर्फ आइतबार लेभान्टे विरुद्ध ह्याट्रिकसहित दुई गोलको एसिस्ट मिलाएपछि बार्सिलोनाका डाइरेक्टर ग्वीलेर्मो एमोरले लियोनल मेसीलाई उत्कृष्ट फुटबलर बताएका छन् ।

आइतबार मेसीले लेभान्टेविरुद्ध उसकै घरमा तीन गोल गर्नुका साथै २ गोलका लागि अवसर मिलाइदिएपछि बार्सिलोनाले ५–० को शानदार जित हात पारेको थियो । साथै यो जितपछि बार्सिलोनाले ला लिगाको अंकतालिकामा ३ अंकको स्पष्ट अग्रता समेत बनाएको छ ।

लेभान्टे विरुद्ध १७ मिनटमा ह्याट्रिक पूरा गरेका मेसीले यस सिजन १४ गोल गर्नुका साथै १० गोलको अवसर समेत मिलाइदिएका छन् । यो मेसीका लागि एक विशेष उपलब्धी समेत हो । यो उपलब्धीसँगै युरोपको शिर्ष पाँच लिगमा डबल यो फिगर बनाउने उनी पहिलो अर्जेन्टिनी फुटबलर बनेका छन् ।

साथै मेसीको त्यो ह्याट्रिकसँगै एकै बर्षमा क्लब र देशका लागि उनले ५० गोलको आँकडा समेत पूरा गरेका छन् । यो सफलता उनले पछिल्लो ९ बर्षमा आठौंपटक हासिल गरेका हुन् ।

उता बार्सिलोनाका लिजेण्ड एमोरले ३१ बर्षिय मेसीको यो प्रदर्शन र सफलता पछि उनको प्रशंसा गर्न कन्जुस्याई गरेनन् । फोर फोर टुका अनुसार मेसीबारे चर्चा गर्दै बार्सिलोना ग्रेट एमोर भन्छन्, “लियोले हार मानेनन् । उनी त्यस्तै खेल्छन्, किनकी उनी उत्कृष्ट छन् ।

उनी निकै व्यवसायीक छन् र गम्भिर पनि । मेसी कहिल्यै दोस्रो उत्कृष्ट खेलाडी हुन सक्दैनन् । उनले पछिल्ला खेलहरुमा पनि निकै सुधार गर्ने प्रयास गरेका छन् । उनी खेलमा परिवर्तन ल्याउन सक्छन् ।”

स्मरणीय छ कि आइतबार खेलिएको त्यो खेल मेसीको ३२३ औं ला लिगा खेल समेत थियो । त्यो खेलपछि उनले आफ्नू पूर्व क्लब टिममेट जाभीलाई पछि पारेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...