फेरि बराबरीमा रोकियो पिएसजी, काभानीले जोगाए टोलीको हार (भिडियोसहित)

एजेन्सी । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानतर्फ लगातार दोस्रो बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको छ । बुधबार राती सम्पन्न खेलमा पिएसजीले स्ट्रासबोर्गसँग बराबरी खेल्दै अंक बाँडेको हो । यसअघि पिएसजीले आइतबार मात्र बोर्ड्युचसँग २–२ बराबरी खेलेको थियो ।

स्ट्रासबोर्गको घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टोलीले नै शुरुवाती अग्रता लिएको थियो । थिलो केहररले बक्स एरिया भित्र ह्याण्डबल गरेपछि स्ट्रासबोर्गले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ४० औं मिनटमा केन्नी लालाले बिना कुनै गल्ती गोलमा परिणत गरेका थिए ।


पहिलो हाफसम्म त्यो अग्रतालाई जोगाएको घरेलु टोलीले त्यसलाई दोस्रो हाफमा भने कायम राख्न सकेन । उता ७१ औं मिनटमा एडिन्सन काभानीले पेनाल्टीबाट गोल गर्दै पिएसजीको सम्भावित हार टारेका थिए ।

शुरुवाती १४ खेल जितेको पिएसजीले पछिल्लो चार दिनमा लगातार दुई बराबरी खेलेको छ । यद्यपि यो बराबरीका बावजुद १६ खेलबाट ४४ अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको लिले भन्दा १४ अंककले अगाडी छ । उता स्ट्रासबोर्ग भने २२ अंकका साथ ९ औं स्थानमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...