युरोप फर्किने खबर ज्लाटनद्वारा अस्वीकार

एजेन्सी । पूर्व स्वीडीस इन्टरनेशनल ज्लाटन इब्राहिमोभिचले आफ्नो युरोप फर्किने तमाम हल्ला र खबरहरुलाई अस्वीकार गरेका छन् । साथै ज्लाटनले आफू तत्कालका लागि आफ्नो वर्तमान क्लब लस एन्जल्स ग्यालेक्सीप्रति समर्पित रहेको स्पष्ट पारेका छन् ।

ज्लाटनले यसै बर्षको मार्चमा म्यानचेष्टर युनाइटेड छाड्दै अमेरिकी क्लबमा आवद्ध भएका थिए । घुँडामा लागेको चोटका कारण ज्लाटनले ओल्ड ट्राफोर्डमा खासै गेमटाईम नपाएपछि क्लबसँगको सम्झौता निर्धारित समय भन्दा अघि उनले स्थगित गरेका थिए ।

उता अमेरिकी क्लबमा आवद्ध भए लगतै ज्लाटनले शानदार शुरुवात गर्ने क्रममा एलए ग्यालेक्सीका लागि डेब्यु खेलमै दुई गोल गर्न सफल भएका थिए । ज्लाटनले अमेरिकामा आफ्नो पहिलो सिजनमै २२ गोल गरेका थिए ।


ज्लाटनको नाम लामो समयदेखि उनको पूर्व क्लब एसी मिलान र म्यानचेष्टर युनाइटेडसँग जोडिंदै आएको छ । यद्यपि यी स्वीडीस स्टार फरवार्डले ती सबै हल्लाहरुलाई अस्वीकार गरेका छन् ।

क्लबको आधिकारिक वेबसाईटसँग कुरा गर्दै ज्लाटनले भनेका छन्, “यसमा कुनै गोप्यता छैन । युरोपबाट ममाथि चासो रहेको कुरा सबैलाई थाहा छ । तर मेरो प्राथमिकता ग्यालेक्सीमा छ । म यहाँ छु र निकै खुशी छु । क्लबलाई मेरो सबै चाहनाहरु थाहा छ । उनीहरु सबै सकरात्मक छन् ।

उनीहरुले मसँग निकै राम्रो व्यवहार गरेका छन् । उनीहरु निकै सहयोगी छन् । मलाई र मेरो परिवारलाई आवश्यक परेको कुरामा उनीहरुले सहयोग गरेका छन् । यहाँ सबैसँग मेरो राम्रो सम्बन्ध छ । मलाई यहाँ कुनै किसिमको चिन्ता छैन ।”


प्रतिक्रिया दिनुहोस

Loading...