च्याम्पियन्स लिग ग्रुप एच : घरमै हार्यो युभेन्ट्स (भिडियोसहित)

एजेन्सी । अन्तिम दश मिनटमा दुई गोल गर्दै च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडले युभेन्ट्समाथि उसकै घरमा २–१ को रोमाञ्चक जित हात पारेको छ ।

तुरीनस्थित युभेन्ट्स स्टेडियममा सम्पन्न खेलको ६५ औं मिनटमा क्रिष्टियानो रोनाल्डोले युभेन्ट्सका लागि शुरुवाती गोल गरेका थिए । यद्यपि घरेलु टोलीले त्यसलाई अन्तिम मिनटसम्म जोगाउन सकेन ।

उता खेलको ८६ औं मिनटमा म्यानचेष्टर युनाइटेडका लागि हुवाँ माटाले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यस्तै ८९ औं मिनटमा एश्ले योङको फ्रिकिक प्रहारलाई क्लियर गर्ने क्रममा युभेन्ट्सका एलेक्स सान्ड्रोले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि युभेन्ट्स घरमै पराजित हुन पुगेको थियो ।

युभेन्ट्सले सन् २००९ को डिसेम्बरपछि च्याम्पियन्स लिगतर्फ घरै हार बेहोरेको यो पहिलोपटक हो । त्यतिबेला युभेन्ट्स बायर्न म्युनिखसँग पराजित हुन पुगेको थियो ।


यो जितसँगै ४ खेलबाट ७ अंक जोडेको म्यानचेष्टर युनाइटेडले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम राखेको छ । उता ९ अंक जोडेको युभेन्ट्स शिर्ष स्थानमा यथावत छ र उसलाई नकआउट चरणमा प्रवेश गर्न अर्को खेलसम्म पर्खिनु पर्ने भएको छ ।

त्यस्तै बुधबार राती नै सम्पन्न समूह एच तर्फको अर्को खेलमा योङ ब्वाईजलाई १–३ ले हराएको भ्यालेन्सिया ५ अंकका साथ तेस्रो स्थानमा छ भने १ अंक जोडेको योङ ब्वाईज पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...