रोनाल्डोमार्फत ४३ अरब भन्दा बढी कमाउनेछ युभेन्ट्स : रिपोर्ट

एजेन्सी । कन्सलटेन्सी फर्म केपीएमजीको एक रिपोर्टअनुसार पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको युभेन्ट्स आगमनले क्लबको अर्थ व्यवस्थामा निकै प्रभाव पार्ने आँकलन गरेको छ । यो रिपोर्टलाई उक्त कम्पनीले मेड्रिड टु टुरिन ः रोनाल्डो इकोनोमी नाम दिएको छ ।

यो रिपोर्टका अनुसार इटालियन जायन्टले यो स्थानान्तरणबाट बार्षिक रुपमा सिधै ८५ मिलियन युरो कमाउने स्थितिमा छ । रोनाल्डोको चार बर्षको अनुबन्धबाट युभेन्ट्सले ३४० मिलियन युरो (४३ अरब रुपैया) भन्दा बढी कमाउने छ ।

यद्यपि केपीएमजीको भविष्यवाणीअनुसार युभेन्ट्सले आर्थिक बर्ष सन् २०१८–१९ मा रोनाल्डोको स्थानान्तरणबाट खासै सकरात्मक प्रभाव भने नदेख्ने बताएको छ । त्यस्तै कम्पनीको अनुमान अनुसार युभेन्टस्को म्याच डे मुनाफा ५५ देखि ७० मिलियन युरो हुनेछ । यद्यपि यो आँकडा क्लबको च्याम्पियन्स लिगको खेलमा हुने प्रदर्शनमा पनि निर्भर रहनेछ ।


त्यसैगरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ब्रोडकास्टिङ डिष्ट्रिब्युशनबाट हुने मुनाफा १९० मिलियन देखि २५५ मिलियन युरोको बीचमा हुने बताइएको छ । केपीएमजीको रिपोर्टअनुसार क्लबको मुख्य मुनाफा प्रायोजन र व्यापारबाट हुनेछ ।

रिपोर्टको दावीअनुसार आउने दुई–तीन बर्षमा युभेन्ट्सको व्यवसायीक मुनाफा १९५ मिलियन देखि २२० मिलियन युरोसम्म हुनेछ । युभेन्ट्सको ब्राण्ड र सोसल मिडिया एक्सपोजरमा निसन्देह रोनाल्डोको ठूलो प्रभाव पर्नेछ । खासगरी युभेन्ट्स अहिलेसम्म बलियो ब्राण्डका रुपमा स्थापित नभएको देशहरुमा ठूलो प्रभाव पर्ने निश्चित छ ।

एसिया, दक्षिण तथा मध्य अमेरिकी देशहरुमा रहेका रोनाल्डोको सोसल मिडिया एक्सपोजरहरुले युभेन्ट्सलाई एउटा ग्लोबल ब्राण्ड बनाउने समेत निश्चित भईसकेको छ । फलस्वरुप यसको असर पनि क्लबको मुनाफामा पर्ने पक्का छ ।

यद्यपि केही अन्य रिपोर्टहरुले केपीएमजीको यी सकारात्मक रिपोर्टहरुलाई रोनाल्डोको स्थानान्तरणको एक सिक्काको केवल एक पाटाका रुपमा चर्चा गरेका छन् । सिक्काको अर्को पाटामा युभेन्ट्सले यति महँगो स्थानान्तरण गरेर त्यसबाट आइपर्न सक्ने सम्भावित रिस्कहरुबारे पनि बुझिएको छ ।

खासगरी रोनाल्डोको अनुबन्धले उनीमाथि खर्चिएको रकम उठाउनु युभेन्ट्सको एउटा चुनौति पनि हुनेछ । जुन क्लबको मुनाफा जस्तै भविष्यको परिस्थितिहरुमा निर्भर रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...