नाटकीय रुपमा रोमाको डील ‘हाईज्याक’ गर्दै ब्राजिलियन विंगर बार्सिलोनामा आवद्ध

एजेन्सी । बार्सिलोनाले नाटकीय रुपमा इटालियन क्लब एएस रोमाको डील हाईज्याक गर्दै फ्रेन्च क्लब बोर्डाओबाट ब्राजिलियन विंगर मेल्कमलाई ४१ मिलियन युरोमा अनुबन्ध गरेको छ । २१ बर्षिय यी क्षमतावान विंगरले बार्सिलोनासँग् ५ बर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् र उनी २०२३ सम्म नोउ क्याम्प मै रहने पक्का भएको छ ।

यसअघि रोमाले सोमबार मात्र बोर्डाओसँग स्थानान्तरण रकमलाई लिएर सहमति भएको कुरा आफ्नो ट्वीटर एकाउण्टमा सार्वजनिक गरेको थियो । साथै अब मेडिकल र व्यक्तिगत सम्झौता हुन मात्र बाँकी रहेको बताइएको थियो ।

बोर्डाओ र रोमाबीच ३२ मिलियन प्लस ६ मिलियन बोनस रकमसहितको सहमति बनिसकेको थियो । यद्यपि उता विलियनका लागि बार्सिलोनाको प्रस्ताव तेस्रोपटक पनि चेल्सीले अस्वीकार गरेपछि क्याटलन क्लबले मेल्कमका लागि ४१ मिलियन युरोको बीड गरेको थियो ।


रोमाका स्र्पोटिङ डाइरेक्टर मन्चीका अनुसार खेलाडीसँग उनीहरुले कुनै सम्झौतामा हस्ताक्षर नगरेको तर यस स्थानान्तरणलाई लिएर बार्सिलोनासँग कानुनी लडाई लड्ने रोमाले विचार गरिरहेको बताएका छन् । मान्कीले रोमाको वेबसाईटमा कुरा गर्दै भनेका छन्, “आज बिहान मेल्कमका एजेन्ट फर्नान्डो गार्सियासँग कुरा गर्यौं । दिउँसो १२ बजे बोर्डाओसँग मिटिङ बस्ने योजना थियो र खेलाडी बेलुकासम्म रोम आउने कुरा थियो ।

त्यसपछि उनका एजेन्टले बोर्डाओले अझ राम्रो प्रस्ताव चाहेको बताएका थिए । जसले हामीलाई आश्चर्यमा पारेको थियो । बार्सिलोनो यो स्थानान्तरणमा सामेल भईसकेको थियो । हामीले भन्यौ, यो बढी भयो हामी बोल कबोल गर्न चाहँदैनौं । यो साँचो हो कि केही कुरामा हस्ताक्षर भएको थिएन, तर एजेन्ट र अध्यक्षसँग हाम्रो धेरै कुरा भएको थियो । यसबारे आँकलन समेत भईरहेको छ ।”


मेल्कमको बुधबार बार्सिलोनामा मेडिकल हुँदैछ । ब्राजीलको राष्ट्रिय टोलीका लागि अहिलेसम्म नखेले तापनि उनले लिग वानमा २० गोल गर्नुका साथै १३ गोलका लागि अवसर समेत मिलाइएदिएका थिए । मेल्कमका लागि बार्साले ४१ मिलियन युरो तिरेको छ भने त्यसमा १ मिलियन युरो थप अतिरिक्त रकम बुझाएको छ । मेल्कम यस समर बार्सिलोना आउने दोस्रो ब्राजिलियन खेलाडी हुन् । यसअघि क्याटलन क्लबले ग्रेमियाबाट आर्थरलाई अनुबन्ध गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...