विश्वविजेता एम्बाप्पेका लागि खुशी छन् नेमार

एजेन्सी । रुसमा सम्पन्न फिफा विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएका ब्राजिलियन स्टार नेमारले आफ्नो क्लब टिममेट किलियन एम्बाप्पेलाई विश्व विजेता बनेकोमा बधाई दिएका छन् । नेमार र उनको टिम ब्राजीलले रसिया विश्वकपमा बेल्जियमसँग पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।

उता सेमिफाइनलमा भने बेल्जियमले फ्रान्ससँग हार बेहोरेको थियो । विश्वकपको फाइनल भिडन्तमा एम्बाप्पेले फ्रान्सलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले खेलमा १ गोल गरेका थिए र फ्रान्सले क्रोएशियालाई ४–२ ले हराउँदै दोस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको थियो ।

आफ्नो उत्कृष्ट प्रदर्शनका कारण एम्बाप्पेले रसिया विश्वकपमा उत्कृष्ट युवा खेलाडीको पुरस्कार समेत जितेका थिए । स्पेनीश अखबार एएसका अनुसार रुसमा शानदा प्रदर्शन गरेपछि एम्बाप्पे अहिले विश्व फुटबलको हटकेट बनेका छन् ।


उता नेमारले आफ्नो क्लब टिममेटका लागि निकै उत्साहित रहेको बताएका छन् । यसै सप्ताहन्त सञ्चारमाध्यमसँग कुरा गर्दै नेमारले भने, “यो स्वभाविक हो कि मैले उनलाई बधाई दिएको छु । विश्वकपका बेला हामी सधै कुराकानी गथ्र्यौं । हामीले सेमिफाइनलमा भेट्ने प्रयास गरेका थियौं तर दुर्भाग्यवश त्यो हुन सकेन ।

तर म एम्बाप्पेका लागि निकै खुशी छु । उनी एक यस्ता व्यक्ति हुन जोसँग मेरो विशेष लगाव छ । साथै म आफ्नो यो युवा उमेरमा पनि उसलाई आफ्नो अनुभव सुनाउन तयार छु । जसले गर्दा उसलाई आगामी दिनहरुमा थप उत्कृष्ट खेल्न र आफ्नो प्रदर्शनमा सुधार गर्न सहयोग पुग्नेछ ।”


प्रतिक्रिया दिनुहोस

Loading...