म खुशी छु कि अब मलाई मेसी विरुद्ध खेल्नुपर्ने छैन : लेंगलेट

एजेन्सी । बार्सिलोनामा भर्खरै आवद्ध भएका युवा फ्रेन्च डिफेन्डर क्लिमेन्ट लेंगलेटले अब आफूलाई सुपरस्टार लियोनल मेसीविरुद्ध खेल्न नपर्ने भन्दै खुशी व्यक्त गरेका छन् । जुलाई महिनाको शुरुवात मै यी सेन्टर ब्याक डिफेन्डरलाई बार्साले सेभियाबाट ३६ मिलियन युरोमा अनुबन्ध गरेको थियो । लेंगलेटले क्याटलन क्लबको डिफेन्स लाईन थप दुरुस्त पार्ने विश्वास व्यक्त गरिएको छ ।

पछिल्ला केही बर्ष यता बार्सिलोनाले सेभियाबाट थुप्रै खेलाडीहरुलाई अनुबन्ध गरेको छ । चर्चित फुटबल साईट गोलका अनुसार लेंगलेटले अब मेसीसँग एउटै क्लबबाट खेल्न पाउने भएपछि खुशी व्यक्त गरेका छन् ।

बार्सा टिभीसँग कुराकानी गर्दै यी २३ बर्षिय डिफेन्डरले मजाक गर्दै भनेका छन्, “म यहाँ आएर निकै खुशी छु, किनकी अब मलाई बार्सिलोनाविरुद्ध खेल्नुपर्ने छैन । मेसी विश्वको उत्कृष्ट खेलाडी हुन् । उनी खेलमा सहजै आफ्नो प्रभाव जमाउँछन् । साथै उनी आफ्नो इच्छाअनुसार कुनै स्थानबाट पनि गोल गर्न सक्छन् । तपाईंको भाग्य राम्रो छ भने मात्र तपाई उनलाई केही हदसम्म रोक्न सक्नुहुन्छ ।”


यी फ्रेन्च डिफेन्डरले नोउ क्याम्पमा आफूलाई छिटै अभ्यस्त गराउने विश्वास समेत लिएका छन् । साथै उनले बार्सिलोनाको टोलीमा रहेका खेलाडीहरुका कारण उनको यो परिस्थिति थप सहज भईदिने आशा व्यक्त गरेका छन् ।

उनले अगाडी भनेका छन्, “जब तपाई्र राम्रो खेलाडीहरुसँग खेल्नुहुन्छ तब त्यहाँ अभ्यस्त हुन तपाईंलाई सहज भईदिन्छ । नोउ क्याम्पमा हरेक खेलाडी शिर्ष स्तकाा छन् । बार्सिलोनाको फिलोसफी नै बललाई पछाडीबाट लैजानु हो । दुनियाँमा यो शेलीको फुटबल खेल्ने बार्सिलोना एक मात्र क्लब हो । मलाई धेरैले बताएका थिए यो शहर निकै अविश्वसनीय छ । एकपटक तपाई बार्सामा आवद्ध भएपछि तपाईलाई यो क्लब छोड्न मन लाग्दैन ।”

स्मरणीय छ कि रसिया विश्वकपछि बार्साका कतिपय मुख्य खेलाडीहरु छुट्टी मनाईरहेका छन् । यो अवस्थामा प्रि–सिजन टुरतर्फ लेंगलेटले बार्साको पहिलो रोजाई मै स्थान बनाउन सक्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...