रियल मेड्रिडमा रोनाल्डोको उत्तराधिकारी बन्ने रेसबाट पछि हटे नेमार

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन स्टार नेमारले आफू रियल मेड्रिडमा क्रिष्टियानो रोनाल्डोको उत्तराधिकारी बन्न इच्छुक नरहेको स्पष्ट पारेका छन् । साथै उनले रोनाल्डोलाई युभेन्ट्स स्थानान्तरणका लागि शुभकामना पनि दिएका छन् ।

केवल १२ महिना अघि मात्र बार्सिलोनाबाट विश्व किर्तिमानी रकममा पिएसजी आएका नेमारको नाम लगातार रियल मेड्रिडसँग जोडिंदै आएको छ । साथै हालै रोनाल्डो युभेन्ट्समा आवद्ध भएपछि यी हल्लाहरुले थप तिव्रता पाउन थालेको थियो ।


केही रिपोर्टहरुको दावीअनुसार रियलले पिएसजीका नेमार र उनकै टिममेट किलियन एम्बाप्पेलाई रोनाल्डोको उत्तराधिकारीका रुपमा बर्नबेयु ल्याउन चाहेको कुरा बताइएको थियो । तर गत शनिबार मात्र नेमारले आफू पेरिस मै रहने स्पष्ट पारेका थिए ।

नेमारले भनेका छन्, “म रोनाल्डोलाई गुड लक दिन चाहन्छु । म उनको करियरको नयाँ चरणका लागि शुभकामना पनि दिन चाहन्छु ।”

साथै विश्वकपमा आफ्नो अनेक हरकतका कारण आलोचनाको शिकार बनेका नेमारले आफूलाई यस्तो कुराहरुले कुनै फरक नपर्ने बताएका छन् । नेमार भन्छन्, “मलाई यसको बानी परिसकेको छ । मलाई थाहा छ मेरो बारेमा के कुरा हुन्छ र मलाई यो पनि थाहा छ कि मैले के गर्नुपर्छ । तर जो मेरो नजिक छन्, उनीहरुलाई मात्र थाहा छ नेमार हुनु कति कठिन छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...