मार्शललाई अनुबन्ध गर्ने योजनामा बायर्न र चेल्सी !

एजेन्सी । इङलिस जायन्ट म्यानचेष्टर युनाइटेडका फ्रेन्च फरवार्ड एन्थोनी मार्शलले फिफा विश्वकप नखेले तापनि उनको मागमा भने कुनै गिरावट आएको छैन । ताजा रिपोर्टअनुसार जर्मन क्लब बायर्न म्युनिख र इङलिस क्लब चेल्सीले यी २२ बर्षिय उदयीमान फरवार्डलाई अनुबन्ध गर्न योजना बनाई रहेका छन् ।

यद्यपि यो रिपोर्टको दावीअनुसार मार्शललाई अनुबन्ध गर्ने म्युनिख र चेल्सीले जति चासो देखाए तापनि युनाइटेडका म्यानेजर जोसे मौरिन्होले भने आफ्नो यी फरवार्डलाई कुनै पनि हालतमा बेच्न चाहँदैनन् । स्मरणीय छ कि मौरिन्होले गत सिजन मार्शललाई अधिकांश समय बेन्चमा राखेका थिए ।

ओल्ड ट्राफोर्डमा मार्शलको अनुबन्ध अझै एक बर्षको छ । तर अधिकांश समय बेन्चमा बस्न परेपछि यी फ्रेन्च फरवार्ड युनाइटेड छोड्ने योजनामा छन् । गत जनवरीमा एलेक्सिस सान्चेज ओल्ड ट्राफोर्ड आएपछि मार्शल र अर्का युवा फरवार्ड मार्कस रेशफोर्डले कम अवसर पाउन थालेका छन् ।


यी दुवै खेलाडी टोलीको बाँया पोजिसनमा रहेर खेल्ने गर्छन् । युनाइटेडमा अधिकांश समय खेल्न नपाएपछि मार्शल भर्खरै सम्पन्न फिफा विश्वकप विजेता फ्रान्सको राष्ट्रिय टोलीमा पर्न समेत असफल भएका थिए ।

इडन हजार्डको नाम लगातार रियल मेड्रिडसँग जोडिन थालेपछि चेल्सी अहिले हजार्डको विकल्पको खोजीमा छ र उसले मार्शललाई अनुबन्ध गर्ने योजना बनाएको छ । तर मौरिन्हो भने मार्शलको उत्कृष्ट क्षमताका कारण उनलाई तत्काल बेच्ने मनसायमा भने छैनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...