जर्मनीको राष्ट्रिय जर्सी नलगाउने ओजिलको घोषणा

एजेन्सी । इङलिस क्लब आर्सनलका आक्रमक मिडफिल्डर मेसुट ओजिलले जर्मनीको जर्सीमा फुटबल नखेल्ने भन्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

बीबीसीका अनुसार २९ बर्षिय ओजिलले एक वक्तव्य जारी गर्दै जर्मन फुटबल एशोसिएसनले आफूप्रति गरेको व्यवहारका कारण उनले अब फेरि जर्मनीको जर्सी लगाएर मैदानमा नउत्रिने बताएका छन् । साथै उनले रसिया विश्वकपमा जर्मनीको हार र फितलो प्रदर्शनप्रति आफूलाई मात्र दोष थोपरिएको दावी गरेका छन् ।


रुसमा फिफा विश्वकप शुरु हनु अघि गत मईमा लण्डनमा आयोजना गरिएको एक कार्यक्रममा ओजिलले टर्कीका राष्ट्रपति रजब तैयब एडोर्गनसँग फोटो खिचाएपछि उनको चर्को आलोचना गरिएको थियो । सो कार्यक्रममा ओजिलसँगै जर्मनीका अर्का मिडफिल्डर इल्काय गुन्डोगन पनि उपस्थित थिए र उनले पनि सँगै फोटो खिचाएका थिए ।

ओजिल र गुन्डोगन दुवै खेलाडी टर्कीस मूलका हुन् । यसबारे गुन्डोगनले यसअघि नै माफी मागीसकेका छन् । यद्यपि यो घट्नापछि जर्मनीका विभिन्न राजनीतिज्ञ लगायतका व्यक्तिहरुले ओजिलको चर्को आलोचना गरेका थिए ।

यहि तस्विरका कारण विवाद चुलिएको थियो ।

ओजिलका अनुुसार यो घट्नापछि उनको परिवारलाई घृणासहितको इमेल तथा फोन तथा सामाजिक सञ्जालबाट धम्की आईरहेको समेत बताएका छन् । सन. २००९ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका ओजिलले जर्मनीका लागि ९२ खेल खेल्दै २३ गोल समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...