नेमारको बचाउ गर्दै डानी आल्वेसले भने “आलोचना कमजोरहरुको हतियार हो”

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का राईट ब्याक डानी आल्वेसले उनको क्लब तथा ब्राजिलियन टिममेट नेमारले विश्वकपमा आफ्नो फितलो प्रदर्शनका कारण आवश्यकता भन्दा बढी आलोचना झेल्नु परेको बताएका छन् ।

नेमारलाई फेब्रुअरीमा एंकल इन्जुरी भएको थियो र त्यसको शल्यक्रिया पनि गरिएको थियो । यद्यपि रसिया विश्वकपका लागि भने फिट हुन सफल भएका थिए । रुसमा धेरैको नजर उनीमाथि थियो तर उनी भने अन्य कारणले चर्चामा रहे । मैदानमा डाइविङ र प्ले–एक्टिङ गरेको भन्दै नेमारको चर्को अलोचना भएको थियो ।


बेल्जियमविरुद्धको क्वाटरफाइनलमा नेमारको प्रदर्शन खासै प्रभावकारी रहेन र ब्राजील खेलमा २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । आल्वेस आफ्नो टिममेट नेमारको आवश्यकता भन्दा बढी आलोचना भएको मान्छन् ।

आल्भेसले एक कार्यक्रममा सञ्चारमाध्यमसँग बोल्दै भने, “मलाई लाग्छ उनको आवश्यकता भन्दा बढी आलोचना भएको छ । नेमारले जे पनि गर्छन्, त्यो समाचार भईदिन्छ । यदि उनी भावुक हुन्छन् भने मानिसहरु उनको आलोचना गर्छन् । यदि उनले आफ्नो कपाल रंग्याउँछन् त मानिसहरु उनको आलोचना गर्छन् ।


म ती मानिसहरुलाई नेमारको स्थानमा हेर्न चाहन्छु । हामीले यस्तो कुरामा ध्यान दिनुपर्छ जसले हामीलाई परिपक्व बनाउँछ साथै एउटा सत्य पुरुष बन्न सहयोग गर्छ । बाँकी सबै कुराहरु हावादारी हुन् । आलोचना गर्नु कमजोरहरुको हतियार हो । मलाई लाग्छ फुटबलरहरु आफ्नो टिम र टिममेटका लागि सधै राम्रो गर्न प्रयासरत हुन्छन् ।

नेमारलाई जसले पनि चिनेको छ, उसलाई उनको क्वालिटीबारे राम्रोसँग थाहा छ । म फेरि भन्छु, हामीले यस्ता खेलाडीहरुलाई ध्यान दिनुपर्छ । उनी जस्ता खेलाडीहरु कै कारण फुटबलले एउटा औचित्य पाएको छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...