स्टार मिडफिल्डरहरुलाई अनुबन्ध गर्ने दौडबाट पछि हट्यो सिटी

एजेन्सी । इङलिस मिडियाका अनुसार म्यानचेष्टर सिटीले यस समर युभेन्ट्सका मिडफिल्डर मिरालेम यानिच, रियल मेड्रिडका मिडफिल्डर मेटियो कोवासिच र बायर्न म्युनिखका मिडफिल्डर थियागोलाई अनुबन्ध प्रयास नगर्ने निर्णय गरेको छ ।

स्मरणीय छ कि इटालीबाट आएको एक रिपोर्टअनुसार सिटीका म्यानेजर पेप गार्डिओलाले यानिचलाई फोन गरेर एतिहाद स्टेडियम आउनका लागि प्रयास गरिरहेको बताइएको थियो । यद्यपि पेपले यानिचलाई युभेन्ट्सबाट ल्याउन असफल भएका थिए ।

आफ्नो मुख्य टार्गेट जर्जिन्होलाई अनुबन्ध गर्न नसकेपछि सिटीलाई थुप्रै अन्य मिडफिल्डरहरुसँग जोडिएको थियो । तर चर्चित फुटबल साईट गोलका अनुसार सिटीले यस समरमा थप स्थापित मिडफिल्डरलाई अनुबन्ध प्रयास नगर्ने बताएको छ ।


यो रिपोर्टअनुसार सिटीको विश लिस्टबाट यानिच मात्र नभएर थियागो र कोवासिचको नाम पनि हटाइएको छ । सिटीले जनवरी ट्रान्सफर विन्डोमा फ्रेडलाई अनुबन्ध गर्न चाहेको थियो । यद्यपि त्यतिबेला सिटीले शख्तर डोनेस्कलाई मनाउन सकेन । अहिले आएर फ्रेड सिटीको शहरी प्रतिद्वन्द्वी म्यानचेष्टर युनाइटेडमा आवद्ध भईसकेका छन् ।

त्यसैगरी यसै समर सिटीले इटालियन मिडफिल्डर जर्जिन्होलाई अनुबन्ध गर्ने प्रक्रिया नजिक समेत पुगेको थियो । यद्यपि पछि अन्तिममा आएर जर्जिन्होले पनि सिटीलाई लत्याउँदै लण्डन क्लब चेल्सीमा जाने निर्णय लिएका थिए ।

सिटीले ५० मिलियन पाउण्डको आसपासमा एक मिडफिल्डरलाई लिने योजना बनाएको छ । उसलाई थाहा थियो यति रकममा उसले स्टार मिडफिल्डहरु सकभर किन्न सक्दैन । तर पनि इङलिस च्याम्पियनले युवा मिडफिल्डरका लागि भए पनि ट्रान्सफर मार्केटमा आफ्नो प्रयास जारी राखेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...