प्रशिक्षक साम्पाओलीमाथि भड्किए मेसी सहित अर्जेन्टिनी खेलाडीहरु

एजेन्सी । भर्खरै सम्पन्न रसिया विश्वकप अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी र अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका लागि बिर्सनलायक रह्यो । अर्जेन्टिना प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग पराजित हुँदै विश्वकपबाट बाहिरियो भने मेसीको विश्वकप जित्ने सपना फेरि एकपटक तुहिएको थियो ।

तर अहिले बाहिर आइरहेको सनसनीपूर्ण रिपोर्टहरुका अनुसार रुसमा मेसी र अर्जेन्टिनाका प्रशिक्षक जर्जे साम्पाओलीबीचको सम्बन्ध निकै बिग्रिएको थियो । समूह डी तर्फ क्रोएशियासँग ३–० ले पराजित भएपछि अर्जेन्टिना समूह चरणबाटै बाहिरिने संघारमा समेत पुगेको थियो । त्यो हार पश्चात् जेभियर मस्चेरानो र मेसीले प्रशिक्षक साम्पाओली र उनको स्टाफसँग मिटिङ बसेका थिए ।

टीवाईसी स्पोर्टस् र ओले कलमनिस्टका अर्जेन्टिनी पत्रकार अरील सेनोसिअनले आफ्नो पुस्तक ‘मुण्डियल एस हिस्टोरियस’ मा मेसी र साम्पाओलीबारे धेरै कुरा खुलासा गरेका छन् । जसअनुसार क्रोएशियासँगको हार पश्चात् अर्जेन्टिनी खेलाडीहरु आफ्ने प्रशिक्षक र उनको स्टाफहरुसँग भेट्न चाहन्थे ।


त्यसैले उनीहरुले प्रशिक्षक साम्पाओलीसँगै सेवेस्टियन बेक्कासेसे र लियोनल स्कालोनीलाई पनि बोलाएका थिए । पत्रकार सेनोसिअनका अनुसार साम्पाओलीलाई भनिएको थियो, “जे तिमी भन्छौं, त्यो हामीले बुझ्दैनौं, अब हामीलाई तिमीमाथि अलिकति पनि विश्वास छैन, अब हामी आफ्नो सुझाव राख्न चाहन्छौं ।”

यो अभिव्यक्तिपछि प्रशिक्षक साम्पाओली अवाक बनेका थिए र उनले खेलाडीहरुलाई कुन कुरामा सुझाव राख्न चाहेको भनी प्रश्न गरेका थिए । त्यतिबेला खेलाडीहरुको जवाफ थियो, “सबै कुरामा ।”

पत्रकार सेनोसिअनका अनुसार यसबारे खेलाडी र प्रशिक्षकबीच निकै चर्काचर्की समेत भएको थियो । यद्यपि पछि त्यो मिटिङ शान्त भएको थियो । त्यसपछि अर्जेन्टिनाले खेल्ने आगामी खेलहरुमा प्रशिक्षकले नभई खेलाडीहरुले सम्भावित टोलीको निर्णय गर्ने कुरा भएको थियो ।

यो निर्णयपछि साम्पाओलीका सहायक प्रशिक्षक सेवेस्टियन बेक्कासेसे राजिनामा दिने तयारीमा थिए, तर उनलाई प्रशिक्षक साम्पाओलीले रोकेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...