स्थायी स्थानान्तरणको खोजीमा सिटीका गोलरक्षक हार्ट

एजेन्सी । म्यानचेष्टर सिटीका इङलिस गोलरक्षक जोए हार्टले अब कुनै लोन डीललाई स्वीकार नगर्ने र आफ्नो आगामी मुभ अब स्थायी रुपमा हुनुपर्ने बताएका छन् । ३१ बर्षिय हार्टले सन् २०१६ मा पेप गार्डिओला आएपछि सिटीको जर्सीमा केवल एक म्याच मात्र खेल्न पाएका थिए ।

त्यसपछि उनले पछिल्ला दुई सिजन इटालियन क्लब टोरिनो र प्रिमियर लिग क्लब वेस्ट ह्याममा बिताएका थिए । दुवै लोन स्पेल्समा उनको प्रदर्शन निकै खराब रहेको थियो । जसका कारण उनलाई रसिया विश्वकप खेल्ने इङलिस टोलीमा पनि समावेश गरिएको थिएन ।

यसबारे कुरा गर्दै हार्टले भने, “मैले पछिल्ला दुई सिजन फरक क्लबमा रहेर बिताए, किनकी मलाई विश्वकपको स्क्वाडमा पर्नका लागि खेल्नु जरुरी थियो । तर हेर्नुस आज मलाई त्यहि लोन स्पेलले कुन स्थानमा ल्याइदिएको छ ।”


सिटीसँग थप एक बर्षको अनुबन्धमा रहेका हार्टले अगाडी भनेका छन्, “म एउटा अनुभवी खेलाडी हो र मैले धेरै समय उच्च स्तरको फुटबल खेलेर बिताएको छु । मेरो विचारमा मेरो आगामी क्लबमा म आफैलाई एउटा महत्वपूर्ण खेलाडीका रुपमा स्थापित गर्न चाहन्छु । यो अवस्थामा मेरो आगामी स्थानान्तरण स्थायी हुनेछ ।”

इङल्याण्डको राष्ट्रिय टोलीमा फर्किन उत्सुक रहेको हार्टले आफू कुनै पनि लिगमा खेल्न समेत तयार रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...