सिरि ए लाई फेरि महान बनाउनेछन् ‘जिनियस’ रोनाल्डो : नेमार

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार फरवार्ड नेमारका अनुसार क्रिष्टियानो रोनाल्डो रियल मेड्रिडबाट युभेन्ट्समा जानुले सिरि ए र इटालियन फुटबलको शानदार दिनहरु फेरि फर्किने बताएका छन् । साथै नेमारले सिरि ए आफ्नो बाल्यकालको मनपर्ने लिग रहेको समेत बताएका छन् ।

बर्नबेयुमा ९ सिजन बिताएका रोनाल्डोले अन्तत रियल छोड्ने निर्णय लिएका थिए । पोर्चुगिज स्टार रोनाल्डोले गत साता मात्र युभेन्ट्ससँग चार बर्षको सम्झौतामा हस्ताक्षर गरेका थिए । उनी १०५ मिलियन युरोमा रियलबाट इटालियन च्याम्पियन युभेन्ट्समा आवद्ध भएका थिए । रोनाल्डोले टुरीनमा बार्षिक रुपमा ३० मिलियन युरो पारिश्रमिक पाउने छन् ।


भनिन्छ रोनाल्डोको युभेन्ट्स मुभले इटालियन फुटबलको कायापलट हुनेछ । २६ बर्षिय नेमार जब सानो थिए, त्यतिबेला युभेन्ट्स, इन्टर र एसी मिलानलाई युरोपको उत्कृष्ट क्लब र सिरि ए लाई युरोपको उत्कृष्ट लिग मानिन्थ्यो । नेमारको बुझाईमा रोनाल्डो युभेन्ट्स जानुले इटाली र सिरि ए मा विश्व फुटबलको ध्यान फेरि एकपटक जाने बताउँछन् ।


नेमारले पत्रकारहरुसँग कुरा गर्दै भने, “क्रिष्टियानो रोनाल्डो युभेन्ट्समा आवद्ध भएपछि इटालियन फुटबल सधैका लागि परिवर्तन हुनेछ । यो फेरि त्यहि इटालियन फुटबल हुनेछ जुन मैले बाल्यकालमा हेर्ने गर्दथें । क्रिष्टियानो एक शानदार खेलाडी हुन् ।

उनी एक फुटबल लिजेण्ड र जिनियस हुन् । हामीले उनलाई सम्मान गर्नुपर्छ । म उनको निर्णयले खुशी छु । मलाई लाग्छ उनलाई यो निर्णय लिन निकै कठिन भएको थियो । म उनको भविष्यको लागि शुभकामना दिन चाहन्छु, तर पिएसजीविरुद्ध खेल्दा होईन ।”


प्रतिक्रिया दिनुहोस

Loading...