चेल्सीको बेस्ट प्लेयर हुन हजार्ड, हामीलाई उनको खाँचो छ : फेब्रिगास

हजार्डका साथ फेब्रिगास (बाँया) ।

एजेन्सी । चेल्सीका बेल्जियन स्टार इडन हजार्ड रियल मेड्रिडमा जाने हल्ला चलिरहेको बेला चेल्सीका स्पेनीस मिडफिल्डर सेस फेब्रिगासले हजार्ड चेल्सीको बेस्ट प्लेयर रहेको र उनलाई स्टामफोर्ड ब्रीज मै राख्न प्रयास गर्नुपर्ने बताएका छन् ।

हजार्ड रसिया विश्वकपमा उत्कृष्ट लयमा थिए । साथै प्रतियोगितामा उनले सिल्भर बल अवार्ड समेत जितेका थिए । विश्वकपमा शानदार प्रदर्शन गरेपछि उनी रियल मेड्रिड जाने हल्ला चलिरहेको छ । रियलले गत साता मात्र पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई १०५ मिलियन युरोमा इटालियन च्याम्पियन युभेन्ट्सलाई बेचेको थियो । साथै उनको स्थानमा रियलले नेमार, एम्बाप्पे र हजार्डलाई अनुबन्ध गर्न चासो दिईरहेको छ ।


एन्टोनियो कोन्टेले चेल्सी छोडेपछि र मौरिजियो सार्री क्लबको नयाँ म्यानेजरका रुपमा आएपछि चेल्सी बोर्डले अब हर हालतमा हजार्डलाई क्लब मै राख्न प्रयास गर्नुपर्ने फेब्रिगासको बुझाई छ ।

एक पत्रकार सम्मेलनमा यी स्पेनिस मिडफिल्डरले हजार्डबारे बोल्दै भनेका छन्, “म झुट बोल्दिन । म प्रायः उनीसँग कुरा गरिरहन्छु । उनी हाम्रो बेस्ट प्लेयर हुन् र चेल्सीले आफ्नो बेस्ट प्लेयरलाई क्लब मै राखीरहन सक्नुपर्छ ।

उनलाई थाहा छ कि समर्थकहरु उनलाई माया गर्छन् र उनी यस्ता खेलाडी हुन्, जोसँग हामी सँगै खेल्दा हामीलाई गर्व महशुस हुन्छ । निसन्देह हामी चाहन्छौं उनी हामीसँगै रहुन् ।”


यसअघि चेल्सीका नयाँ म्यानेजर मौरिजियो सार्रीले हजार्डबारे भनेका थिए, “मलाई लाग्छ हजार्ड युरोपका शिर्ष दुई या तीन खेलाडी मध्ये एक हुन् । मलाई आशा छ कि म उनलाई थप उत्कृष्ट बनाउन सक्नेछु । यो निकै कठिन हुनेछ किनकी उनको स्तर निकै उच्च छ ।”


प्रतिक्रिया दिनुहोस

Loading...