रियल स्थानान्तरणबारे बोल्दै नेमारले भने “पिएसजी मै खुशी छु”

एजेन्सी । ब्राजिलियन स्टार नेमारले रियल मेड्रिडमा अनुबन्ध हुने सबै अनुमानहरुलाई लत्याउँदै आफू पेरिस सेन्ट जर्मेन (पिएसजी) मै खुशी रहेको बताएका छन् ।

पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो युभेन्ट्सतर्फ लागेपछि रियल अहिले नयाँ स्टारको खोजीमा छ र उसको नजरमा यी ब्राजिलियन स्टार नै पहिलो विकल्पका रुपमा रहेका छन् ।

केही रिपोर्टहरुले यसअघि रियलका आधिकारिक प्रतिनिधिहरु सान्तोष पुगेको र नेमारका पितासँग उनको सम्भावित स्थानान्तरणलाई लिएर कुरा गरीरहेको बताइएको थियो ।


नेमार गत सिजन मात्र बार्सिलोनाबाट २२२ मिलियन युरोको विश्वकिर्तिमानी रकममा पिएसजीमा आवद्ध भएका थिए । पिएसजीसँग नेमारको अझै ५ बर्षको सम्झौता छ र उनको कन्ट्रयाक्टमा कुनै बाई आउट क्लज छैन ।

नेमारले पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्, “म रोकिरहनेछु र पेरिस मै रहनेछु । मेरो क्लबसँग अझै सम्झौता छ । मिडियाहरुको काम नै कथा बनाउनु हो र उनीहरु मेरो भविष्यबारे अनुमान लगाईरहन्छन् । तर यो निकै बोरिङ छ । सबैलाई थाहा छ कि म पिएसजीलाई माया गर्छु ।

क्लबका अध्यक्ष, समर्थक र सबैलाई थाहा छ म पेरिस किन आएको थिएँ । म पेरिसमा एउटा नयाँ चुनौतिका लागि आएको थिएँ र म एउटा नयाँ लक्ष्य हासिल गर्न चाहन्छु । मलाई विश्वास छ आगामी सिजन सफल हुनेछ ।”


आफ्नो क्लब टिममेट किलियन एम्बाप्पेबारे नेमारले भने, “किलियन अविश्सनीय छन्, जुन मानिसहरु उसँग काम गरिरहेका छन्, उनीहरुलाई किलियनको क्वालिटी थाहा छ । म उनको लागि निकै खुशी छु, किनकी उनको विश्वकप यात्रा शानदार रह्यो । हामी सधै कुरा गर्छौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...