कोरियन स्टारले गरे टोटेनह्यामसँग लामो सम्झौता

एजेन्सी । दक्षिण कोरियाका स्टार फरवार्ड ह्युङ–मिन सनले आफ्नो वर्तमान इङलिस क्लब टोटेनह्याम हट्सपरसँग नयाँ लामो सम्झौता गरेका छन् । २६ बर्षिय यी कोरियन स्टारले लण्डन क्लबसँग पाँच बर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अब नयाँ सम्झौताअनुसार यी कोरियन फरवार्ड आगामी सन् २०२३ सम्म लण्डन क्लब मै आवद्ध रहने पक्का भएको छ । सन् २०१५ मा जर्मन क्लब बायर लेभरकुसेनबाट टोटेनह्याममा आवद्ध भएका उनले क्लबका लागि १४० खेलमा ४७ गोल समेत गरिसकेका छन् ।


सनले गत सिजन टोटेनह्यामले समग्रमा खेलेको कुल ५५ मध्ये ५३ खेलमा क्लबका लागि मैदानमा उत्रिएका थिए । सन् २०१७ मा उनी प्रिमियर लिगको टप एसियन गोलस्कोरर बनेका थिए । यसअघि कोरिया कै पार्क जि–सुङले म्यानचेष्टर युनाइटेडबाट खेल्दा यो उपलब्धी हासिल गरेका थिए ।

सनले गत सेप्टेम्बरमा प्रिमियर लिग प्लेयर अफ द मन्थको अवार्ड जित्ने पहिलो एसियन खेलाडीको उपलब्धी समेत हासिल गरेका थिए । उनले हालै रुसमा सम्पन्न फिफा विश्वकपमा पनि दुई गोल गरेका थिए । साविक विजेता जर्मनीलाई कोरियाले अप्रत्याशित रुपमा पराजित गर्दा सनले पनि एक गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...