एक्लै खेल जिताउन सक्दैनन् रोनाल्डो : लोरेन्जो

एजेन्सी । नापोलीका विंगर लोरेन्जो इनसीनिएका अनुसार उनले युभेन्ट्सका नयाँ स्टार क्रिष्टियानो रोनाल्डो भन्दा बार्सिलोनाका लियोनल मेसीलाई विशेष मान्छन् । उनले रोनाल्डोप्रति वाकयुद्ध शुरु गर्दै भनेका छन् कि रोनाल्डो एक्लैले सिरि ए मा म्याच जिताउन सक्दैनन् ।

गत साता रियल मेड्रिडबाट १०५ मिलियन युरोमा युभेन्ट्समा आवद्ध भएका रोनाल्डोले सोमबार मात्र क्लबसँग मेडिकल पूरा गरेका थिए । साथै सोही दिन रोनाल्डोलाई सार्वजनिक रुपमा अनावरण समेत गरिएको थियो । ला लिगाको चर्चा गर्दा मेसीसँग रोनाल्डोको मैदानको प्रतिद्वन्द्वीता भने समाप्त भएको छ ।

सन् २००९ मा म्यानचेष्टर युनाइटेडबाट बर्नबेयु आएपछि नै पछिल्ला नौ बर्षसम्म यी दुई स्टारबीच स्पेनमा उत्कृष्टताका लागि भिडन्त जारी रहेको थियो । यी दुवै स्टारले प्रतिष्ठित बेलन डि अर अवार्ड समान पाँच–पाँच पटक जितेका छन् ।


फोर फोर टुका अनुसार रोनाल्डोले युभेन्ट्सलाई लगातार आठौं पटक इटालियन सिरि ए को उपाधि जिताउने सोंचमा छन् । यद्यपि उता लोरेन्जोका अनुसार युभेन्ट्सले रोनाल्डोमाथि मात्र बढी भर गर्न नहुने बताउँछन् ।

गजेट्टा डेलो स्पोर्टसँग कुराकानीका क्रममा लोरेन्जोले भनेका छन्, “रोनाल्डोले हाम्रो लिगलाई कसरी स्वीकार गर्नेछन् कसरी अभ्यस्त हुनेछन्, त्यो हेर्न म इच्छुक छु । उनी यहाँ एकलै खेल जिताउन सक्दैनन् । एउटा व्यक्तिगत फुटबलरका रुपमा म मेसीलाई विशेष मान्छु । तर यी पोर्चुगिज स्टारको क्षमता माथि शंका गर्ने ठाउँ छैन । पाँच पटक बेलन डि अर जित्नु चानचुने कुरा होइृन ।”


प्रतिक्रिया दिनुहोस

Loading...